• ट्रेण्डिङ्ग :
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु

बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु


  • 2.5K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.8K Views

    बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु

    नेपालगन्ज, ५ पुस । बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु भएको छ । करिब दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।

    images

    “सर्वेक्षण भनेपछि गणनाको कुरा पनि आउँछ, वास्तविक रुपमा बाघ कति छन् र त्यसको आहारा प्रजातिको अवस्था कस्तो छ भनेर स्पष्ट हुन खोजिएको हो”, उहाँले भन्नुभयो । प्रमुख संरक्षण अधिकृत कँडेलले बाँकेमा सर्वेक्षण काम सकिएपछि बर्दियामा बाघ र बाघको आहारा प्रजातीको सर्वेक्षण सुरु गरिने बताउनुभयो ।

    सूचना अधिकारी मन्दीप पङ्गेनीले बाँके राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्र्यापिङ, चिन्ह पहिचान र डिएनए परीक्षण प्रविधिको प्रयोगमार्फत सर्वेक्षण सुरु गरिएको उल्लेख गर्नुभयो । उहाँले सर्वेक्षणबाट निकुञ्जमा रहेका बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको जानकारी हुने भएकाले त्यसबाट आगामी कार्ययोजना बनाउन सहज हुने बताउनु भएको छ।

    प्रविधिको प्रयोगले बाघ र बाघको आहारा प्रजातिको संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको जानकारी दिँदै सूचना अधिकारी पङ्गेनीले बाँकेपछि बर्दियामा सुरु हुने सर्वेक्षणले बाघ संरक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

    उनले बाँके राष्ट्रिय निकुञ्जलाई चार ब्लकमा विभाजन गरी दुई किलोमिटर क्षेत्रफलको एउटा ग्रिड बनाएर स्वचालित क्यामेरा जडान गरेर काम गरिएको बताए ।  क्यामेराको सहयोगले बाघ र आहारा प्रजातिको गतिविधि र दिशासम्बन्धी तथ्याङ्कसमेत सङ्कलन हुने छ । बाघको आहारा प्रजातीमा बाँके राष्ट्रिय निकुञ्जमा चित्तल, बँदेल, चौका, निलगाई, जरायोलगायत पर्छन् । 

    सर्वेक्षणका लागि निकुञ्जका प्राविधिक कर्मचारी र नेपाली सेनालाई आवश्यक तालिम प्रदान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार यसलाई अझ प्रभावकारी बनाउन बाँके निकुञ्जमा १०९ स्थानमा स्वचालित क्यामेरा जडान गरिएको छ । निकुञ्जको पश्चिम क्षेत्र कोहलपुर, खडकबार, बुचापुरबाट सर्वेक्षण सुरु गरिएको छ ।

    त्यसका लागि १६ देखि २० जना प्राविधिक कर्मचारीले ८० दिनसम्म जङ्गलमै बसेर काम गर्ने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।  पछिल्लो समयमा आएर दुवै निकुञ्जको नजिक रहेका बस्तीमा छिरेर बाघले सर्वसाधारणलाई आक्रमण गर्ने र वन्यजन्तुले घर भत्काउने तथा खाद्यान्न नष्ट गर्ने गरेको स्थानीयले  गुनासो गरेका छन् । 


    तेस्रो आँखा