तुलसीपुर १२ पुस । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको कार्यकक्षमा लागेको ताला खोलिएको छ । प्रमुख प्रकासकीय अधिकृत डाँगीले सर्प महोत्सवको रकम दिन आनाकानी गरेको भन्दै शुक्रबार दिउँसो सर्प उद्धारकर्ता प्रभात भण्डारीले उहाँको कार्यकक्षमै ताला लगाउनु भएको थियो ।
ताला लगाएपछि भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत डाँगीले आइतबार रकम दिने सहमतिमा ताला खोलिएको सर्प उद्धारकर्ता प्रभाव भण्डारीले तेस्रो आँखालाई जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ मा गत कात्तिक ८ गतेदेखि १० गतेसम्म सर्प महोत्सव आयोजना भएको थियो ।
उक्त महोत्सवमा तुलसीपुर उपमहानगरपालिकाले ४ लाख रुपैयाँ दिने सहमति भएको थियो । सबै प्रक्रिया पुरा गरेर विल कार्यपालिका बैठकमा पेश भएर कार्यपालिकाको बैठकले ४ लाख रकम दिने निर्णय गर्दा समेत डाँगीले रकम दिन आनाकानी गरेपछि उहाँको कार्यकक्षमा ताला लगाइएको थियो ।
