काठमाडौं, २४ फागुन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले महिलाको सशक्तिकरणको निमिक्त सबै प्रतिबद्ध भएर लाग्नु पर्ने बताएका छन् । एक सय १२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले महिलको शसक्तिकरणको निमित्त नेपालका तीनै तहका सरकारहरु प्रतिबद्ध भएर लाग्नु पर्ने बताएका हुन् ।
नेपालको संविधानले महिलाहरुलाई व्यवस्था गरेको अधिकारको कार्यान्वयन गर्न, महिलाको आर्थिक, सामाजिक, राजनीतिक र पैतृक सम्पतिको अधिकारको सुनिश्चितता गर्न आफ्नो ठाउँबाट सबैलाई भूमिका खेल्न बताउँदै देउवाले महिलको हकहितको लागि काम गर्न सरकार प्रतिबद्ध भएको दावी गरे ।
‘महिला शसक्तिकरण हामी सबैको कर्तव्य हो,’ उनले भने,‘आजपनि महिलाहरुको आर्थिक, सामाजिक र राजनीतिक रुपमा सक्रियता बढाउनको निमित्त निती तथा कानूनहरु बनाउने काम भैरहेको छ ।’ महिलामाथि हुने असमानता र भेदभावलाई दुष्टिगत गर्दै उनीहरुको विकाससँगै महिलामाथि हुने आर्थीक, बौद्धिक र सामाजिक हिंसालाई अन्त्यका लागी कांग्रेसको सरकार सधै अगाडि रहेको बताए ।
विगतको तुलनामा महिलाको सहभागिता र अधिकारको लागि नेपालले सफलता प्राप्त गरेको भएपनि अझै धेरै कामहरु गर्न बाँकीनै रहेको बताए । समानता र समावेशीताको आधारमा समाजलाई अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।
