• ट्रेण्डिङ्ग :
वडाध्यक्षसंग पाँच प्रश्न (कुमाख गाउँपालिका वडा न. १ का वडाध्यक्ष डिल्लीबहादुर राना)

वडाध्यक्षसंग पाँच प्रश्न (कुमाख गाउँपालिका वडा न. १ का वडाध्यक्ष डिल्लीबहादुर राना)


  • 8.8K
    SHARES
    • पौष १५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 13.5K Views

    वडाध्यक्षसंग पाँच प्रश्न (कुमाख गाउँपालिका वडा न. १ का वडाध्यक्ष डिल्लीबहादुर राना)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उदेश्यले तेस्रो आँखा डटकमले विभिन्न पालिकाहरुका वडाध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले सल्यानको कुमाख गाउँपालिका वडा न.१ का वडाध्यक्ष डिल्ली बहादुर रानासंग पाँच प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष रानासंग तेस्रो आँखाकी संवाददाता रुपा थापाले गरेको कुराकानीको सम्पादित अंश ।

    images

    १- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो, कति काम हुन बाँकी छ ? 

    हामीले जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये करिब करिब ७० प्रतिशत काम सम्पन्न गर्न सफल भएका छौं । अब ३० प्रतिशत काम गर्न बाँकी छ । हाम्रो वडामा सबै भन्दा धेरै खानेपानीको समस्या छ । त्यसैले हामीले चुनावको समयमा जनतालाई वडामा रहेको खानेपानी समस्यालाई समाधान गछौं भनि प्रतिवद्धता जनाएका थियौं । त्यहीअनुसार हामीले हाम्रो वडामा रहेका करिब ९० प्रतिशत घरपरिवारलाई एक घर, एक धारा भन्ने अभियानसहित खानेपानी पुर्याउन सफल भएका छौं । 

    अब हामीले १० प्रतिशत घरपरिवारलाई अर्को वर्षसम्म खानेपानी पुर्याउने योजना अनुसार काम गर्दै आएका छौं । हामीले शिक्षाको क्षेत्रमा पनि विद्यालयहरुमा ८० प्रतिशत भौतिक संरचनाहरु निर्माण गर्न सफल भएका छौं । अब २० प्रतिशत भौतिक संरचना बनाउन बाँकी छ । बाँकी कामलाई पनि हामीले यहि वर्षमा सम्पन्न गर्ने तयारीमा छौं । शैक्षिक सुधारका क्षेत्रमा पनि हार्डवेयरको काम भईरहेको छ, भने सफ्टवयरको कामलाई पनि हामीले अगाडी बढाउने योजनामा छौं । स्वास्थ्य क्षेत्रमा हामीले काम गर्दै आएका छौं । हाम्रो वडाका जनताहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौैं । हाम्रो वडामा मचपनि र टाड्के दुई ठाउँमास्वास्थ्य  चौकी छ । उक्त स्वास्थ्य चौकीबाट नागरिकलाई सहज रुपमा सेवा दिइरहेका छौं ।

    त्यसका साथै हाम्रो वडाका सबै टोलबस्तीमा सडकहरु खुलिसकेका छन र उक्त सडकहरुलाई स्तरोन्नति गर्ने अभियानमा छौं । हाम्रो वडाका प्रायः सबै ठाउँहरुमा संचारको सुविधाहरु पुगेको अवस्था छ । पहिले जस्तो फोन नलाग्ने समस्या छैन । सिचाँइको क्षेत्रमा पनि हाम्रो वडा भित्र पानी आवश्यक पर्ने ठाउँहरुका जमिनलाई लक्षित गरेर सिचाँईका ट्याँकी बनाएर नागरिकहरुलाई सिंचाइको पहुँचमा पुर्याएका छौं । त्यसका साथै सिंचाईका लागि वडामा भएका करिब ८० प्रतिशत कुलाहरु पक्की बनाएका छौं । पानीको स्रोतहरु टाढा र कुलाको सहायताले पानी ल्याउन नसकिने अवस्थामा लिप्टिसिटि हालेर सिचाँईको पहुँच पुर्याउने गरि संघ र प्रदेश सरकारबाट काम भईरहेको छ ।

    हाम्रो वडा भित्र ६ सय ५६ टोलबस्तीका कमै ठाउँमा विद्युत विस्तार भएको छ । २ सय घरधुरिहरुमा पोल समेत पुगेको छैन् । पोल गाडेको ठाउँहरुमा पनि विद्युत प्राधिकरणले लाईन छोडेको छैन्, त्यसको लागि हामीले पहल गरिरहेका छौं । जुनसुकै विकास योजनाका कामहरुमा युवालाई बढी सहभागि बनाउने हाम्रो योजना हो । त्यहीअनुसार हामीले खेलकुद, सचेतनामूलक कार्यक्रमदेखि सबै ठाउँहरुमा युवालाई बढी लक्षित हुने गरि काम गर्ने गरेका छौं । हाम्रो वडामा पछिल्लो समयमा सबैभन्दा धेरै समस्याको रुपमा बालबिवाहलाई लिएका छौं । यसलाई गाउँपालिकाबाट नै हामीले २०८२ मा बजेट विनियोजन गरेर वडाहरुमा बालविवाह सम्बन्धि सचेतनामूलक कार्यक्रमसहित बालबिवाह मुक्त वडा घोषणा गर्ने हाम्रो लक्ष्य छ ।

    २-वडाको समग्र गतिविधिहरु संचालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागि गराईदैन भन्ने गुनासो सुनिन्छ, तपाईको वडामा त्यस्तो छ की छैन ?

    हाम्रो वडामा यस्तो खालको समस्या छैन । कुनै कुनै वडामा फरक पार्टीबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुमा यस्तो खालको समस्या देखिन्छ होला । तर हाम्रो वडाका सबै जनप्रतिनिधिहरु एउटै पार्टीबाट निर्वाचित भएर आएको हुँनाले यस्तो खालको समस्या छैन् । हाम्रो वडा भित्र वडा कमिटि मात्र नभएर वडाबाट हुने कार्यक्रमहरु, अभियान, बजेट विनियोजन लगायतका सबै क्षेत्रका काम गर्दा वडा सदस्यहरुसँग छलफल गरेर उहाँहरुको सल्लाह, सुझाव र राय अनुसार काम हुने गरेको छ । वडाबाट हुने हरेक गतिविधिमा वडासदस्यहरुको सहभागित हुने भएकाले यस्तो खालको गुनासो हाम्रो वडामा छैन् ।

    ३- वडाको समग्र समृद्धिका लागि तपाईका भावि योजनाहरु के के छन ?

    हाम्रो वडा कुमाख गाउँपालिकाका अन्य वडा भन्दा भौगोलिक रुपमा विकट वडा हो । हाम्रो वडामा सबैभन्दा बढी शिक्षा क्षेत्रमा समस्या छ । २०७४ भन्दा अगाडि हाम्रो वडामा मावि विद्यालय नै थिएन । २०७४ को निर्वाचनमा म आफै वडासदस्यमा निर्वाचित भएपछि उक्त समयमा वडा कमिटिको निर्णय अनुसार एउटा माथिल्लो र अर्को तल्लो भेगमा वडा भित्र दुईवटा मावि बनाउनुपर्छ भन्ने निर्णय बमोजिम हामीले सरस्वती मावि र भेरी मावि टाड्के गरि दुईवटा मावितहको विद्यालय स्थापना गर्न सफल भएका हौं । 
    ति विद्यालय स्थापना भएपछि हाम्रो वडाका विद्यार्थीहरुलाई ३ घण्टाको बोटो हिडेर पढ्न जानुपर्ने समस्या हटेको छ । अबको हाम्रो योजना भनेको यी दुईवटा माविहरुलाई स्तरोन्नित गरेर प्राविधिक शिक्षा संचालन गर्ने योजनामा छौं । उक्त योजनालाई हाम्रै कार्यकाल भित्र सम्पन्न गर्ने गरि लागि परेका छौं । हाम्रो वडामा अर्को समस्याको रुपमा रहेको युवा शक्ति विदेश पलाएन, बसाई सराई गरेर सहरी क्षेत्रमा जाने प्रवृति छ । हाम्रो वडाबाट वर्षमा २५ देखि ३० परिवारहरुले बसाई सराई गरेर अन्य ठाउँमा जाने गर्नु भएको छ । हामीले यो समस्याहरुलाई कसरि रोक्ने भनि वडा कमिटिको बैठक बसेर छलफल गरेका थियौं । बसाई सराई र वैदेशिक रोजगारी भनेको एक अर्कोमा जोडिएको विषय रहेछ । जो एक युवा विदेश जाने पैसा कमाएर घरघडेरी लिएर आफ्नो परिवार नै लिएर बसाई सर्ने प्रवृति छ । सोही कुरालाई देखासिखि गरेर अरु परिवारले पनि त्यस्तै गर्दै आएको पायौं । यो समस्यालाई कसरी न्युनिकरण गर्ने भन्ने कार्ययोजना सहित काम गर्ने योजनामा छौं ।

    त्यसका साथै हाम्रो वडाको तल्लो भेगमा जिल्लाकै बढी बदाम उत्पादन हुने ठाउँ छ । त्यसैले विप्नचु, टाड्के बस्ती, सानमुला जस्तो तल्लो बस्तीमा बदाम पकेट क्षेत्र बनाउने योजनामा छौं । त्यसैगरी माथिल्लो क्षेत्रमा सुन्तला, कागति, टिमुर र अमिला लगायतका कृषि आयआर्जनको रुपमा विकास गर्ने हाम्रो भावि योजना छ । आधारभुत आवश्यकता अनुसार पूर्वाधार विकासहरुलाई नागरिकको पहुँचमा पुर्याउने पनि हाम्रो योजना छ ।

    ४- जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासिहरुको जनगुनासो कतिको सुनिन्छ ?

    हामी आफै जनताहरुको जनगुनासोहरु सुन्ने ठाउँमा भएकाले उहाँहरुको गुनासो सुन्दै आएका छौं । जनताहरुले गुनासो गर्ने नजिकको सरकार भनेकै वडा सरकार हो । हाम्रो वडामा प्रायः जस्तो सेवाग्राहीहरु आउनुहुन्छ । उहाँहरुसंग भेटघाट गरेर पनि गुनासो सुन्ने गरेका छौं । त्यसका साथै हामी आफै जनप्रतिनिधिहरुको हैसियतले टोलटोलमा गएर पनि उहाँहरुको गुनासोहरु संकलन गर्ने गरेका छौं । हामीलाई गर्व पनि लाग्छ जनताहरुले उठाएका प्रश्नहरु, आवाजहरु, उहाँहरुको आशा अपेक्षाहरु हामीलाई सुनाए बमोजिमको विकास गर्ने उत्प्रेरणा जागेर आउँछ । जनताहरुको खासै ठुला गुनासोहरु त आएका छैनन् । खासगरी विकास सम्बन्धि गुनासाहरु आउछन् । हामीले उहाँहरुले माग गरेअनुसार र वडाले सकेजति यो वर्ष नभए अर्को वर्ष काम गर्दै आएका छौं । जनताहरुको गुनासोहरु त सधै आईरहेने गतिशिल प्रक्रिया जस्तै हुन, यो कहिले पनि सकिदैन् । उहाँहरुका आशा, अप्रेक्षाहरु असिमित हुन्छन, जुन आज पुरा हुन्छ, भोलि फेरि अर्को आईहाल्छ ।

    ५- सन २०३० सम्म दिगो विकासका लक्ष्यहरु प्राप्ति गरि सक्नुपर्ने समय सिमा छ, त्यसको लागि तपाईको तयारी कस्तो छ ? 

    सन २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु प्राप्त गरिसक्नु पर्ने समय सिमाअनुसार हाम्रो गाउँपालिकामा पनि यो विषयमा छलफलहरु भईरहेको छ । विभिन्न कार्यक्रम तथा योजनाहरुलाई प्रभावकारी बनाउनका लागि योजनाबद्धको रुपमा कार्ययोजना बनाएर अगाडि बढीरहेका छौं । हामीले दिगो विकासका लक्ष्यहरु प्राप्त गर्नका लागि गरिबीको न्युनिकरण गर्नुपर्ने हुन्छ, त्यसका लागि हामीले युवाहरुलाई विभिन्न सिप मुलक तालिम दिने गरेका छौं । मानिसका लागि आवश्यक पर्ने आधारभुत आवश्यकताका पुर्वाधारहरु निर्माण गरि कार्यान्वयन गर्ने काम भईरहेका छन् ।


    तेस्रो आँखा