रुपन्देही, २२ पुस । रुपन्देहीको तिलोत्तमामा एक युवति मृत भेटिएकी छन् । शङ्कर नगरस्थित एक रेस्टुरेन्टमा काम गर्ने युवति रेस्टुरेन्टकै कोठामा मृत भेटिएकी हुन् ।
मृत भेटिनेमा गुल्मी घर भएकी २० बर्षीया विमला राना रहेकी छन् । बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितले उनी रेस्टुरेन्टको कोठामा झुन्डिएको अवस्थामा भेटिएको पुष्टि गर्नुभयो ।
युवतिको साथमा सुसाइड नोट समेत फेला परेको डिएसपी पण्डितले मकालुखबरलाई जानकारी दिए । उक्त सुसाइड नोट र घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
‘होटेलको कोठामा मृत भेटिएकी हुन् । आत्महत्या गरेको हुनसक्ने अनुमान छ,’ उहाँले भन्नुभयो ‘युवतिको साथमा सुसाइड नोट पनि भेटिएको छ । अनुसन्धान भइरहेको छ ।’ डिएसपी पण्डितले गुल्मीस्थित उनको घरबाट आफन्तहरू झिकाइएको र थप अनुसन्धान भइरहेको बताउनुभयो ।
