काठमाडाैं,२८ फागुन । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जरा नभएको बालुवामा राखेको नक्कली मुला भएको बताएका छन् शनिवार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताएका हुन् ।
उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए । उनले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने बताए । उनले भने, ‘यो गभर्मेण्टलाई ठिक छ कि छैन तपाईहरुले धेरै छुट्याउने होइन, यसलाई ठिक हामी लगाइहाल्छौँ नि ।
यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भएपनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ । भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, जान्छ, चुनाव त गर्नैपर्छ ।’
निजामती कर्मचारीहरुले पूर्ण रुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठीक छुट्याएर नबस्न आग्रह गरे । एमालेलाइ कुनै कमर्चारीको सहयोग आवश्यक नभएको पनि बताए । ओलीले भने, कर्मचारीको हिसावले तपाईले सरकारको काम गर्नैपर्छ । सरकारलाई सहयोग गर्नुहोस् । सरकारलाई गलत गर्नबाट जोगाउनुस् । सरकारको तर्फबाट जनतालाई दिने डेलिभरी ठिक समयमा दिनुहोस् । तपाईहरु सरकारी कर्मचारी हो, कर्मचारीले सरकारलाई असहयोग गर्छु भन्न मिल्दैन ।’
अध्यक्ष ओलीले अहिले सरकारमा रहेका केही मन्त्रीहरु परमादेशबाट झुक्किएर पावरमा पुगेको बताए । अध्यक्ष ओलीले भने, ‘कहिले कहिले खासै स्ट्रेन्थ नभएका, केही पनि नभएका मानिसहरु पनि झुक्कल पुक्कल, अनेक जाल, तिक्डम, परमादेश जारी भएका बखत हुलमालमा पावरमा पुग्न सक्छन् । त्यसरी पावरमा पुगे भने त्यस्ता मान्छेहरूमा उन्माद चढ्न सक्छ । त्यो उन्मादले देश, जनता, लोकतन्त्रको हित, संविधानको रक्षा, कार्यान्वयनको वास्ता गर्दैन ।’
अध्यक्ष ओलीले (नेकपा माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै आफ्नो सरकार एउटा टेकोले नबन्ने भएपछि अर्को टेको लगाएर बनाएको र उक्त टेको भाँचिएको बताए । उनले स्वार्थी र कमजोर टेको परेकोले पूरा सरकार चलाउन नसकेको बताए । ओलीले संसदले भत्ता खाने बाहेकको काम गर्न नसकेको आरोप समेत लगाए ।
