• ट्रेण्डिङ्ग :
हात्ती आतङ्कले दर्जनौं घरमा क्षति

हात्ती आतङ्कले दर्जनौं घरमा क्षति


  • 1.9K
    SHARES
    • माघ २५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 2.9K Views

    हात्ती आतङ्कले दर्जनौं घरमा क्षति

    बर्दीबास, माघ २५ । गौशाला नगरपालिकाको उत्तरी भेगमा जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रासमा छन् । मध्य रातको समय पारेर बस्ती प्रवेश गर्ने छावासहितका ३ वटा हात्तीले नगरपालिकाको ८ स्थित जङ्गली क्षेत्र आसपासका ढल्केवर, लिख टोल, बयलबास र भन्टावारी ग्रागंजा टोलका दर्जनबढी घर भत्काइसकेको छ । छावासहितको हात्तीका बथानले बालीनालीमासमेत व्यापक क्षति पुर्‍याएपछि आफूहरु घर नघाटाको भएको पीडित गाउँलेको दुखेसो छ ।  

    images

    वडाध्यक्ष भोजबहादुर दर्लामीका अनुसार साता दिनअघि बस्ती प्रवेश गरेका हात्तीले अहिलेसम्म ८ परिवारको एक दर्जनजति घर भत्काइसकेको छ । हात्तीले मूल घरदेखि गोठसमेत ढालेपछि शीतलहरको बेला पीडित परिवरले अर्काको घरमा शरण लिन बाध्य भएको उहाँले बताउनुभयो । 

    मध्यराततिर गाँउ प्रवेश गर्ने हात्तीले बालीनालीमा उत्तिकै क्षति पुर्‍याएका छन् । अहिलेसम्म भण्डै ३० परिवारका करिब १० बिघाको उखु, ५ बिघाको गहुँ बाली र १ बिघाभन्दा बढी जग्गामा लगाइएका आलु बारी खाइ उखेली नष्ट गरेको उहाँले बताउनु भयो । 

    वडाध्यक्ष दर्लामीले भन्नुभयो, ‘आज ९विहिवार० एकै रात ढल्केबर टोलका होमबहादुर आले, होमबहादुर थापा र मोहनबहादुर थापाको काट्ने बेला भएको डेढ बिघाको उखु खाइ उखेली नष्ट गरेको छ ।’ रामनगर चिनी मिलमा दिन ठिक्क परेको करिब ६ लाख मूल्य बराबरको उखु हात्तीले एकै रातमा तहसनहस पारेको पीडितहरुले बताउनुभयो ।  

    वडाध्यक्ष दर्लामीका अनुसार बस्तीमा हात्ती पसेको साता दिन भयो । यसबिच ५० लाख मूल्य बराबरका त बालीनाली नै क्षति गरेको छ । भत्केका घरको २५ लाख जोड्दा हात्तीका कारण अनुमानित ७५ लाख बरारको क्षति भैसकेको छ ।’ 

    गाउँलेका अनुसार छावासहित हात्तीका जोडी आइतवार सर्लाही हुँदै महोत्तरी प्रवेश गरेको हो । दिनभर ती हात्ती गाँउदेखि ३ किमी उत्तर रेल्वे पुलमुनि बाटुले खोल्सी आसपास लुकेर बस्छन् । मध्यरात परेपछि पालैपालो फरक फरक टोलमा पसेर दुःख दिने गरेको पीडित गाउँलेको भनाइ छ । 

    माघ २० गते राती ढल्केबर टोलमा दुःख दिएको हात्तीले २१ गते लिख टोल, २२ गते ग्रांगजा टोल, २३ गते फेरि ढल्केबर र आज २४ गते राती पुन ग्रांजा टोल पुगको बताउनुभयो । यसअघि ती हात्ती पूर्वतर्फको बयलवास टोलमा पनि पुगेको थियो । पानी खोज्दै बस्ती पस्ने गरेका हात्तीले छावाका कारण दुःख दिने गरको गाउँलेको भनाइ छ । 

    रातको समय छावा चकचक गर्दै अलिपर पुगेपछि ओझेलमा पर्छ । बाबुआमालाई नदेख्दा ‘क्वाँ’ गरेर कराएपछि दुवै हात्ती आक्रामक हुँदै छावातर्फ दौडन्छन् । त्यसक्रममा बाटोमा जे फेला पर्छ त्यसलाई भाँच्दै भत्काउँदै जानाले बस्तीदेखि बालीसम्म व्यापक क्षति पुगेको उहाँहरुले बताउनुभयो । अर्कोतर्फ हात्तीका कारण गाउँबस्तीमा असुरक्षाको अवस्था छ । हात्तीको कारण गाउलेहरुको दैनिकी बिथोलिएको वडाध्यक्ष भोजबहादुर दर्लामीले बताउनुभयो । गाउँ आसपासका क्षेत्रमा उखुघारी र बगैंचा भएकाले मेलापात गर्न पनि डरमर्दो भएको छ । गाउँलेहरु आगो बालेर रातभर जाग्राम बस्न बाध्य भएको उहाँले बताउनुभयो । 

    नगर क्षेत्रमा साता दिनदेखि जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आए पनि डिभिजन वन कार्यालयले सहयोग नगरेको गाउँलेको गुनासो छ । तथापि गौशालास्थित इलाका प्रहरी कार्यालयले भने खवर गर्नासाथ हात्ती धपाउन सहयोग गर्दै आएकोले केही भरोसा मिलेको गाउँलेको भनाइ छ । 

    प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले सूचना पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले गाउँलेलाई साथ, सहयोग र भरोसा दिंदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले केही गर्न नसके पनि गाउँलेले हात्ती आएको जानकारी दिएपछि घटनास्थलमा साइरन बजाएर सुरक्षा दिने प्रयास गर्दै आएका छौं ।’ आज राती हात्ती कुन टोलमा पस्ने हो रु गाउँलेबिच छलफल, अनुमान र रात्री सुरक्षाको तयारी गर्नुपर्दा  कामकाज, मेलापात र दैनिकी सबै बिथोलिएको गाउँलेहरुले पीडा पोख्नुभयो ।  


    तेस्रो आँखा