• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन  
गठबन्धन चाहँदैनन् कांग्रेस कार्यकर्ता 

गठबन्धन चाहँदैनन् कांग्रेस कार्यकर्ता 


  • 12.7K
    SHARES
    • चैत्र ३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 19.6K Views

    गठबन्धन चाहँदैनन् कांग्रेस कार्यकर्ता 

    काठमाडौं, ३ चैत। आगामी निर्वाचन सम्मै वर्तमान सत्तागठबन्धनलाई कायम राख्ने वा नराख्ने भन्ने विषयमा गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस केन्द्रीय नेतृत्व भित्र मत विभाजित छ। संस्थापन पक्षभित्र वर्तमान गठबन्धनलाई चुनाव सम्मै कायम राखेर अगाडी बढ्नुपर्छ भन्ने मत कायम छ भने संस्थापन इतर समुहले कांग्रेसीहरुले ‘रुख’ बाहेक अन्यत्र मतदान गर्न नहुनेमा अडान लिइरहेको छ। आफूलाई कांग्रेसले मतदाता सामु एक्लै उभ्याएर आफ्नो शक्तिको पहिचान गर्नुपर्ने भन्दै गठबन्धनको खिलाफमा उत्रिएको कांग्रेसभित्रको संस्थापन इतर तप्काले गठबन्धनले कांग्रेसलाई नभई गठबन्धनमा रहेका अन्य दलहरुलाई मात्रै फाइदा पुग्ने देखिरहेको छ।

    images

    बैशाख ३० गतेको स्थानीय तहको चुनावको तयारीमा खटिएका कांग्रेसका स्थानीय तहका नेता तथा कार्यकर्ताहरु गठबन्धनका बिषयमा साझा धारणा नबनेका कारण अन्यौलमा छन्। ‘गठबन्धन हुने हो कि हैन केही निश्चित छैन,’ कांग्रेस घोराहीका स्थानीय नेता निरज गौतमले भने ‘यो अन्यौलताले हामीहरुलाई के गर्ने भन्नेमै अन्यौल बनाएको छ।’ घोराही उपमहानगरपालिका वडा नम्बर १७ को वडा अध्यक्षका आकांक्षी गौतमले उम्मेदवारको टिकटका लागि दाबी गरिरहेका छन्।

    तर उनको आफ्नो दाबीलाई गठबन्धनले के गर्ने हो भन्ने नै एकिन छैन। उनको यो वडा यसअघी माओवादी केन्द्रले जितेको वडा हो। ‘गठबन्धन कायम हुने भयो भने पहिले गठबन्धनमा रहेका पार्टी मध्य जुन पार्टीले जितेको हो, उसैलाई जितेको वडा छोडिदिने कुराहरु सुनिन्छन्,’ उनले भने ‘यदी यसो भयो भने मेरो सम्भावना त सकियो नि।’

    स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने वा नहुने भन्ने अन्यौलता कांग्रेसीहरुमा छ नै। त्यसमापनि स्थानीय तहका कांग्रेसीहरुको ठूलो तप्का स्थानीय तहको निर्वाचनमा गठबन्धन हुनुहुदैन भन्ने पक्षमा देखिएको छ। ‘कांग्रेसका नेताहरु किन गठबन्धन भनेर बोलिरहेका छन् ? किन एक्लै लड्ने हिम्मत गरेका छैनन् ? भनेर कार्यकर्ता पंक्तीबाट ठूलो प्रश्न उठिरहेको छ,’ गौतमले भने ‘गठबन्धन भैहालेको खण्डमा कांग्रेसी भएर कसरी फरक पार्टीलाई सहयोग गर्ने भनेर धेरै कार्यकर्ताहरु द्धिविधामा देखिएका छन्।’

    घोराही उपमहानगरपालिका वडा नम्बर १७ कै वडा अध्यक्षका आकांक्षी सन्तोष योगी पनि चुनावी तयारीमा लागिसकेका छन्। गठबन्धन हुने हो कि भन्ने आशंकामा उनी पनि छन्। तर वडा तहमा गठबन्धन गरिनुलाई उनले कदापी फाईदा मान्दैनन्। उनी भन्छन् ‘वडा तहमा गठबन्धन गरेर अर्कैलाई सघाउने परिस्थती बन्नु भनेको पार्टीको सिद्धान्त समाप्त पार्नु हो।’ उनका अनुसार कांग्रेसको जग भनेकै वडा तह हो। वडा तहमै आफूलाई स्थापित नगरेर अर्कैलाई स्थान दिएमा आमकांग्रेसीहरुको मनोभाव पार्टीको सिद्धान्त प्रति सकारात्मक नबन्ने उनले बुझेका छन् ।  

    ‘वडा तह भनेको कांग्रेसको जग हो,त्यहाँ पार्टीको दर्शन सिकाईन्छ,कांग्रेस के हो भनेर सिकाइन्छ,’ योगीले भने ‘तर कांग्रेस सिकाउने त्यही थलोमा कांग्रेसले आफूलाई स्थापित गरेन भने कांग्रेसको जग कसरी जोगिन्छ, यसर्थ यो गठबन्धन मैले मात्रै हैन, स्थानीय तहका आमकांग्रेसीहरुले रुचाएका छैनन्, यो हुनु पनि हुँदैन।’

    योगी जस्तै स्थानीय तहका कांग्रेसीहरुको ठूलो जमात गठबन्धनको खिलाफमा छ। गठबन्धन भए कांग्रेसलाई थप कमजोर बनाउने तर्क कतिपयको छ। त्यसोत, कम्युनिष्ट पार्टीहरुमा आएको विभाजनले पनि कांग्रेसको सहज जीत कार्यकर्ताहरुले देखेका छन्। यो सहजताका बेला अय दलहरुसंग गठबन्धन गर्नु भनेको कांग्रेसको आत्मसमर्पण हुने विश्लेषण कांग्रेसको तल्लो तहमा भैरहेको छ। ‘गठबन्धन की र के का लागि ? कांग्रेसलाई फाइदा कि नोक्सान ?’ कार्यकर्ताहरुको प्रश्न छ ‘यसको सही विश्लेषण गर्न कांग्रेसले सकोस्।’

    चुनावी तयारीका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई पनि कांग्रेसीहरुले गठबन्धन नगरेर कांग्रेस एक्लै चुनावमा भिड्नु पर्ने सन्देश दिइरहेका छन्। अझ मुलतः पार्टीको वडा तह सम्म त गठबन्धन किमार्थ कायम हुनै नहुने माग कार्यकर्ताहरुको छ।

    कांग्रेसले जिल्ला जिल्लामा सुरु गरेको चुनावी अभियानका क्रममा दाङमा खटिएका केन्द्रीय प्रतिनिधि चन्द्र केसीले आम कार्यकर्ताको चाहना गठबन्धन नहोओस् भन्ने नैरहेको बताए। ‘म जहाँ जहाँ गएँ, धेरै जसो कार्यकर्ताहरुको सुझाव भनेकै गठबन्धन नगरियोस् भन्ने नै आएको छ,’ कांग्रेस केन्द्रीय सदस्य केसीले भने ‘अहिले कांग्रेसका लागि अवसर रहेको र यो अवसर कांग्रेस एक्लैले उपयोग गर्नुपर्ने बहुमत सुझाव प्राप्त भएको छ।’

    जिल्ला तहका नेताहरुका अनुसार कांग्रेसी कार्यकर्ताहरुले स्थानीय तहमा आफ्नो पहिचान खोजेका छन्। मतदाताको नजरमा कांग्रेसको ‘पोजिशन’ के हो भन्ने एकिन गर्न कांग्रेस एक्लै चुनावमा भिड्नु पर्ने जोड कार्यकर्ताहरुको छ।

    ‘अहिले धेरै भन्दा धेरै कार्यकर्ताहरुले स्थानीय तहमा आफ्नो पहिचान खोजेको अवस्था छ,’ कांग्रेस क्षेत्र नम्बर २ (ख) का सभापति अभियान बस्नेतले भने ‘कांग्रेसको पोजिशन के छ भनेर थाहा पाउनका लागि पनि कांग्रेस गठबन्धन बनाएर हैन, एक्लै लड्नु पर्छ भन्ने जनमत बढि छ।’ साथै कांग्रेसीहरुमा अहिले चुनाव जित्ने विश्वास पनि अधिक रहेकाले कांग्रेस गठबन्धनका आधारमा नभई एक्लै भिड्नु पर्ने सुझाव कार्यकर्ताहरुको रहेको उनले बताए।

    गठबन्धन भएको खण्डमा आफ्नो सहज जीत हुने स्थानमा समेत अर्को दललाई जीताउनु पर्ने हो कि भन्ने त्रासदीमा कार्यकर्ता देखिएका छन्। गठबन्धन भैहाले पनि कांग्रेसको बलियो पडक रहेको स्थानमा कांग्रेसले नै उम्मेदवार खडा गर्नुपर्ने तर्क स्थानीय तहमा उठिरहेको छ। ‘गठबन्धन भैहालेको खण्डमा पनि आफ्नो जित सुनिश्चित हुने स्थानमा कांग्रेसले आफ्नै उम्मेदवार खडा गर्नुपर्छ भन्ने धारणा पार्टीका साथीहरुको छ,’ कांग्रेस क्षेत्र नम्बर ३ का सदस्य सुबास डाँगीले भने ‘तर अर्को कुरा के हो भने गठबन्धन भएको खण्डमा पनि गठबन्धनमा रहेका दलहरुले एकले अर्कोलाई सहयोग गर्ने बिश्वास कायम हुनुपर्छ।’


    तेस्रो आँखा