संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले "भारत र पाकिस्तान पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमत भएको" बताएका छन्।

images

सामाजिक सञ्जालको प्लाटफर्म 'ट्रुथ सोशल'मा एक सन्देश लेख्दै अमेरिकी राष्ट्रपतिले भनेका छन्ः संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमति जनाएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ।

"सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेकामा म दुवै देशलाई बधाई दिन चाहन्छु।"

गत महिना भारत‍-प्रशासित कश्मीरको पहलगाममा सन्दिग्ध चरमपन्थी लडाकुहरूले गोली हानी २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो। चरमपन्थीहरूलाई पाकिस्तानले सघाएको आरोप भारतले लगाएको थियो। तर पाकिस्तानले त्यसको खण्डन गरेको थियो।

दुवै पक्षले एकअर्काले आफ्नो भूमिमा गोलाबारी गरेको अनि क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको आरोप लगाउँदै आएका थिए।

कस्तो सहमति

भारतको झण्डाअगाडि उभिएर बोल्दै भारतीय विदेशसचिव विक्रम मिसरी

 

भारतका विदेशसचिव विक्रम मिसरीले भारत र पाकिस्तान दुवै देशले स्थानीय समयानुसार अपराह्ण ५ बजेदेखि लागु हुने गरी "स्थल, हवाई र समुद्री हमला" रोकेको पुष्टि गरेका छन्।

उनका अनुसार पाकिस्तानका सैन्य कारबाही मामिलाका महानिर्देशकले उनका भारतीय समकक्षीलाई सम्पर्क गरेका थिए र दुवै पक्षले एकअर्कामाथि हमला नगर्ने सहमति जनाएका थिए।

भारतका विदेशमन्त्री एस जयशङ्करले पनि "भारत र पाकिस्तानले आज गोलाबारी र सैनिक कारबाही रोक्न एउटा सहमति" गरेका हुन्।

"भारतले सबै प्रकार र स्वरूपका आतङ्कवादविरुद्ध दह्रो र कडा अडान निरन्तर कायम गर्दै आएको छ। अनि भारतले त्यस्तो अडान कायमै राख्ने छ," उनले भने।

पाकिस्तानको हवाई क्षेत्र सबै उडानका लागि खुला

पाकिस्तानको विमानस्थल निकाय, एपीए,ले देशको हवाई क्षेत्र सबै प्रकारका उडानहरूका निम्ति खुला गरिएको बताएका छन्। एपीएको वक्तव्यका अनुसार देशका सबै विमानस्थलहरू समान्य उडान तालिकाहरूका लागि उपलब्ध छन्।

 

'विविध विषयमा वार्ता हुने'

अमेरिकाका विदेशमन्त्री मार्को रुबिओका अनुसार भारत र पाकिस्तान "तत्काल युद्धविराम गरेर कुनै तटस्थ स्थानमा विविध विषयमा वार्ता गर्न सहमत भएका छन्।"

"शान्तिको मार्ग रोजेकोमा हामी प्रधानमन्त्रीद्वय मोदी र शरिफको बुद्धिमत्ता, सावधानी र राजनेताको गुणको प्रशंसा गर्छौँ,"सामाजिक सञ्जाल 'एक्स'मा उनले लेखेका छन्।

बीबीसी न्यूज नेपाली