काठमाडाैं,९ चैत्र । गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्योे । सिफारिस प्रति असन्तुष्टि जनाउदै अन्य डीआईजीहरुले लोकसेवा आयोगमा चैत ६ गते उजुरी गर्दा गरे । यो सँगै एआईजी पदका लागि बढुवा सिफारिस विवादमा परेको छ ।
हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् । सफारिसमा नपरेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले गत सोमबार उजुरी दिएपछि लोक सेवा आयोगले बढुवा सिफारिस समितिको सचिवालयसँग लिखित जवाफ मागेको छ ।
बढुवा गर्ने निर्णय भएको सात दिनभित्र उजुरी दिनसकिने व्यवस्था प्रहरी नियमावलीमा छ । उजुरी प्राप्त भएपछि उजुरी सुन्ने म्याद सकिएको भोलिपल्टै बढुवा समितिमा पत्र पठाउनुपर्छ । उक्त पत्र प्राप्त भएको तीन दिनभित्र सम्बन्धित बढुवा समितिले उजुरी सुन्ने समितिमा आवश्यक कागजातसहित लेखी पठाउनुपर्छ । उजुरीमा उजुरी गर्ने म्याद समाप्त भएको मितिले पन्ध्र दिनभित्र टुंगो लगाइ सक्नुपर्छ ।
प्रहरी नियमावलीमा एआईजी पदका लागि बढुवा सिफारिस समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव र सदस्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रहने व्यवस्था छ । यो समितिको सदस्य सचिव प्रहरी महानिरीक्षक हुने व्यवस्था छ ।
‘बढुवाबारे गुनासो सुन्ने समितिको बैठक सोमबार बस्यो र त्यस सम्बन्धमा के कसो भएको हो भनेर प्रतिक्रिया लिने निर्णय भएबमोजिम बढुवा सिफारिस समितिमा पत्र गएको लोक सेवा आयोगले जनाएको छ ।
बढुवाबारे उजुरी सुन्ने समितिको अध्यक्ष लोक सेवा आयोगको अध्यक्ष रहने व्यवस्था छ । यो समितिमा मुख्य सचिव र कानुन सचिव रहन्छन् । त्यसको सचिवालय लोक सेवा आयोगमा रहने व्यवस्था गरिएको छ ।
