• ट्रेण्डिङ्ग :
आज कुकुरतिहार र लक्ष्मीपूजा

आज कुकुरतिहार र लक्ष्मीपूजा


  • 482
    SHARES
    • कार्तिक २३, २०८३ आइतबार
    • ९ मिनेट अघि
    • 741 Views

    आज कुकुरतिहार र लक्ष्मीपूजा

    काठमाडौँ, कात्तिक २२ गते । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र साझ औँसी तिथि लाग्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रसम्मत रूपमा एकै दिन यी दुवै पर्व मनाउने निर्णय गरेको हो । बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ । साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी दीपावली गरिने छ ।  

    images

    कुकुरलाई केवल एउटा पशुका रूपमा मात्र नहेरिएर यमराजको दूत र भैरवको वाहनका रूपमा पूजा गरिन्छ । पौराणिक मान्यता अनुसार यमलोकको ढोकामा चार वटा आँखा भएका ‘श्यामा’ र ‘सबला’ नामका दुई वटा कुकुरले पहरा दिइरहेका हुन्छन् ।  

    तिनीहरूले नै मानिसको मृत्युको समय नजिकिँदा यमराजलाई खबर गर्छन् भन्ने विश्वास गरिन्छ ।  कुकुरलाई प्रसन्न राख्दा यमलोक जाँदा कडा सजाय भोग्नु पर्दैन र मृत्युको भय हुँदैन भन्ने धार्मिक विश्वासका साथ कुकुरको पूजा गरिएको हो । महाभारत कथा अनुसार जब पाँच पाण्डव र द्रौपदी स्वर्गारोहणका लागि हिमालयतर्फ प्रस्थान गर्छन्, बाटोमा एक एक गरी सबै ढल्छन् । अन्तिममा धर्मराज युधिष्ठिर र उहाँसँगै हिँडेको एउटा कुकुर मात्र जीवित रहन्छन् । स्वर्गको ढोकामा पुगेपछि देवराज इन्द्रले युधिष्ठिरलाई मात्र स्वर्गभित्र छिर्न अनुमति दिई कुकुरलाई बाहिरै छोड्न भन्नुहुन्छ तर युधिष्ठिरले आफ्नो सङ्कटको साथीलाई छोडेर आफू मात्र स्वर्ग नजाने अडान लिनुहुन्छ । युधिष्ठिरको यो धर्म र वफादारिता देखेर त्यो कुकुर वास्तविक रूपमा प्रकट हुन्छ, जो स्वयं ‘धर्मराज’ (यमराज) हुनुहुन्थ्यो ।  

    त्यस्तै तिहारको सबैभन्दा उज्यालो पक्ष लक्ष्मीपूजा हो । कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ भनिन्छ । पौराणिक कालमा जब देवता र असुर मिलेर अमृत प्राप्तिका लागि क्षीरसागरमा समुद्र मन्थन गरेका थिए, त्यस क्रममा कात्तिक कृष्ण औँसीकै दिन समुद्रबाट जगत्जननी देवी महालक्ष्मी प्रकट हुनुभयो । लक्ष्मी प्रकट भएपछि देवताले उहाँको स्वागतमा दीप प्रज्वलन गरी पूजाआजा गरेका थिए । त्यसैले हरेक वर्ष यो दिन लक्ष्मीको जन्मोत्सव र आगमनको खुसियालीमा दीपावली गरिन्छ ।

    पौराणिक कथा अनुसार भगवान् विष्णुले वामन अवतार लिएर दानवीर राजा बलिलाई तीन पाइला भूमि माग्ने क्रममा पाताल लोक पठाउनुभएको थियो । राजा बलिको दानशीलताबाट प्रसन्न भई विष्णुले उनलाई पातालको राज्य सुम्पिनुभयो । सोही समयमा लक्ष्मीले बलि राजालाई आफ्नो भाइ बनाइ हातमा रक्षा बन्धन (धागो) बाँधिदिनुभयो र त्यसको बदलामा बलि राजाको कडा पहरामा रहेका आफ्ना पति नारायण (विष्णु) लाई मुक्त गराउनुभयो । बलि राजाको राज्यमा लक्ष्मीको आशीर्वादले सधैँ धनधान्य भरिपूर्ण रहने वरदान प्राप्त भएको खुसियालीमा पनि यो रात घर घरमा दीप प्रज्वलन गरी उज्यालो बनाउने गरिन्छ । 

    पञ्चाङ्ग समितिका अनुसार कात्तिक २३ गते  गाईतिहार, कात्तिक २४ गते गोरुतिहार, गोवर्धन पूजा र म्हपूजा गरिने छ । यसै दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुने छ । तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइतिहार (भाइटीका) परेको छ । सो दिन भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेट उत्तम मानिएको छ । 


    तेस्रो आँखा