काठमाडौँ, असार ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिनुभएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले विमानस्थलको दिगो सञ्चालनका लागि आवश्यक कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा रहेको बताउनुभयो।
उहाँले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न विभिन्न प्रकारका सहुलियतहरू प्रदान गरिएको र यसले उडान सङ्ख्या वृद्धि हुने सम्भावना रहेको उल्लेख गर्नुभयो।
हाल हिमालयन एयरलाइन्समार्फत पोखरा–ल्हासा मार्गमा नियमित उडान भइरहेको र अन्य विमान कम्पनीहरूसँग पनि समन्वय तथा छलफल गरी उडान विस्तारको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो।
मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधारलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले भन्नुभयो, “वायुसेवा निगमको विद्यमान संरचनामा व्यवस्थापकीय सुधार गर्ने, रणनीतिक साझेदार भित्र्याएर सञ्चालन गर्ने वा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्पहरूसहित सुझावहरू प्राप्त भएका छन्। ती विकल्पहरूबारे विस्तृत अध्ययन र छलफल गरी निगमको संस्थागत र संरचनागत सुधार कार्य अघि बढाइनेछ।”
