• ट्रेण्डिङ्ग :
बहुविवाह आरोपपछि रास्वपाका उम्मेदवार थापाको स्पष्टीकरणः ‘ममाथि आक्रमण होइन, पार्टीमाथि षड्यन्त्र’

बहुविवाह आरोपपछि रास्वपाका उम्मेदवार थापाको स्पष्टीकरणः ‘ममाथि आक्रमण होइन, पार्टीमाथि षड्यन्त्र’


  • 3.3K
    SHARES
    • भाद्र १७, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 5.1K Views

    बहुविवाह आरोपपछि रास्वपाका उम्मेदवार थापाको स्पष्टीकरणः ‘ममाथि आक्रमण होइन, पार्टीमाथि षड्यन्त्र’

    काठमाडौं । बहुविवाहको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा। लेखजंग थापाले सामाजिक सञ्जालमार्फत आफ्ना निजी जीवनका विषयमा विस्तृत रूपमा स्पष्टीकरण दिएका छन् ।

    images

    रुपन्देही–३ मा उपनिर्वाचनका लागि उम्मेदवार बनेका थापाले आफ्नो पारिवारिक जीवन कानुनी र पारदर्शी भएको दाबी गरेका छन् ।

    टिकट पाएपछि नेपालगञ्जबाट पहिलो फ्लाइट लिएर ९६ वर्षीया आमाको आशीर्वाद लिन जान चाहेका थापाले आमालाई खुसीको खबर सुनाउने सोच बनाएका थिए । तर, काठमाडौंमै आफ्ना वैयक्तिक जीवनप्रति उठेका प्रश्नहरूको उत्तर दिनुपर्ने परिस्थिति आएको भन्दै उनले गुनासो पोखेका छन् ।

    डा। थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माथि भएको यो आक्रमण लेखजंग थापामाथि हैन, सुसंस्कृत राजनीति गर्ने रास्वपामाथि सुनियोजित आक्रमण हो ।’

    उनका अनुसार, जीवनमा परिस्थिजन्य कारणले दुई पटक विवाह भएको, एक जनासँग सम्बन्धविच्छेद समेत भएको र ती सम्बन्धहरूबारे पार्टीलाई पूर्व जानकारी दिएको दाबी गरेका छन् । ‘पार्टी नेतृत्वले कानुनी परामर्शका आधारमा नै उम्मेदवार छनोटमा अगाडि बढेको मेरो बुझाइ छ,’ उनले लेखेका छन् ।

    न्यूरोचिकित्सकको रुपमा १४ वर्ष लामो अनुभव बोकेका थापाले सम्बन्ध विच्छेदपछि पनि सन्तानको हितका लागि पूर्वपत्नीसँग सौहार्दपूर्ण सम्बन्ध रहेको बताएका छन् । ‘सम्बन्ध विच्छेद भएपछिको सहकार्य यदि गल्ती हो भने, मलाई त्यसमा ग्लानी छैन,’ उनी भन्छन् ।

    राजनीतिमा आफू नेता बन्न नभइ परिवर्तनको अभियानमा सहयात्री बन्न आएको बताएका थापाले रुपन्देही–३ को उम्मेदवार आफू मात्र नभएको उल्लेख गरेका छन् । ‘रुपन्देही–३ को उम्मेदवार म होइन, पुनम, जेबी, रचना, सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हुन्,’ उनले लेखेका छन् ।

    ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट आफू उम्मेदवार बनेको भन्दै थापाले पार्टीले आगामी दिनमा लिने कुनैपनि निर्णयलाई स्वागत र स्वीकार गर्ने बताएका छन् । ‘रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि तयार छ,’ उनले भनेका छन् ।

    रास्वपाले रुपन्देही–३ मा उपनिर्वाचनका लागि लेखजंग थापालाई उम्मेदवार बनाएको केही दिनमै उनको वैवाहिक जीवनप्रति प्रश्न उठ्दै आएको थियो ।

     

    रास्वपा रुपन्देही उम्मेदवार लेखजंग थापाले स प्रमाण सहित दोश्रो बिबाहको डिभोर्सको बिषय बाहिर ल्याएका छ।उनले प्रमाण पोष्ट गर्दै लेखेका छन :
     
    रूपन्देही- ३ मा ९६ वर्षकी मेरी‌ बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो। सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला र म आमालाई त्यही कुराहरु देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु।
    खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ‌ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरू लाई उत्तर दिँदैछु।
    प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला। तर मैले बुझेको छु यो आक्रमण म‌ माथि होइन ,यो बेथिति र विसङ्गतिमा रमाउनेहरू बाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो। त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ।
    आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू,एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ। परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो।
    मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ।
    एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन। दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन्। तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
    न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु। यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु।
    सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन। सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन।
    राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ। पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा म देशमा झाङ्गिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ। देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुशरण गरी टुङ्ग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो। विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन , तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किन्चित चाहन्न ।
    म नेता बन्न होइन,देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा कति ठूलो राजनीतिक सुनामी आउँदैछ रुपन्देहीले सुनाउँदै छ । कसले भन्यो रूपन्देही -३ को उम्मेदवार म हो भनेर? रुपन्देही -३ को उम्मेदवार त पुनम,जेबी ,रचना,सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हो। अस्ति नक्खु कारागारमा सभापतिले हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु। तपाईँहरु उम्मेदवार हुनुहोस् मेरो शुभकामना छ ,यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईँहरू त्यसको संवाहक बन्नुपर्छ।
    म त्यही यात्रामा अगाडि बढेको छु। रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ। नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको 'उम्मेदवार छनोट विधि' अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ‌। तथापि मेरो पार्टीले गर्ने कुनैपनि निर्णयलाई म सहर्ष स्वागत ,स्वीकार र पालना गर्नेछु ।
     
     


    तेस्रो आँखा