काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरूलाई ‘प्रक्रिया देखाउने र काम पन्छाउने’ पुरानो प्रवृत्ति त्यागी नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुननिर्देशन दिनुभएको छ । निजामती सेवा दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अब ‘सेवा खोज्दै नागरिक होइन, सेवाले नागरिक खोज्ने’ समय आएको बताउनु भएको हो।
प्रधानमन्त्रीले आफ्नो सन्देशमा स्पष्ट शब्दमा भन्नुभएको छ , ‘सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक छ । टेबल र कुर्चीबाट मात्र होइन, प्रविधिबाट सेवा विस्तार हुनुपर्ने बेला आएको छ ।’ उहाँले बदलिँदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रूपान्तरण गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको प्रभावकारिता निजामती सेवाको काममा निर्भर रहने बताउँदै पछिल्लो समय यस सेवाका आदर्श, मूल्यमान्यता, आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलित भई जनविश्वास घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सरकारलाई सह्य नहुने चेतावनीसमेत दिनुभएको छ।
प्रधानमन्त्रीले सरकारको उच्च प्राथमिकतामा रहेको निजामती विधेयक संसदबाट पारित हुने क्रममा रहेको जानकारी दिँदै यस कानूनले कर्मचारी वर्गको उन्नयनका साथै संघीयताको डेलिभरीमा नयाँ उचाइ दिने विश्वास व्यक्त गर्नुभएको छ । ‘मुलुकमा मानव पुँजी व्यवस्थापन र परिचालनबाट प्रशासनिक संघीयताको एक फड्को तर्ने संघारमा हामी लागेका छौं,’ उहाँले भन्नुभएको छ ।
सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पण भाव मार्फत राज्यले नागरिकको विश्वास जित्न सक्छ भन्ने कुरा सबैले गहिरो रूपमा आत्मसात गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ। आजको युग प्रविधिमैत्री सुशासनको युग भएको उल्लेख गर्दै उहाँले डिजिटल रूपान्तरण, ई-गभर्नेन्स, तथ्यांकमा आधारित नीति निर्माण र सहज एवं पहुँचयोग्य अनलाइन सेवा प्रवाहमार्फत नागरिकलाई छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनु निजामती सेवाको प्रमुख दायित्व भएको स्मरण गराउनु भएको छ ।
