काठमाडाैं,११ चैत्र । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीनले पनि एमसीसी जस्तै परियोजाना दिए नेपालले स्वीकार्ने बताएका छन् । देशको आर्थिक अवस्था र विकास निर्माणलाई सुदृढ तुल्याउन दातृ निकायहरुबाट आउने सहयोगलाई सहर्ष स्वीकार्ने उनले बताएका हुन् ।
‘नेपालमा अहिले पूर्वाधारमा सडक महत्वपूर्ण क्षेत्र हो’, उनले भने, ‘पर्यटकीय, कृषि उत्पादन, व्यापारको दृष्टिकोणले कुन सडकमा लागनी गर्दा बढी प्रतिफल दिन्छ भनेर हेर्नुपर्छ ।’ प्रवक्ता महतले चिनियाँ विदेशमन्त्री वाङ यी को नेपाल भ्रमणलाई लिएर यस्ता भ्रमणले चिनियाँ चासो बुझ्ने र हाम्रा चासो चिन्ता राख्ने मौका दिने बताए ।
चिनियाँ विदेशमन्त्री वाङ यी यही शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरेको केही समयमा हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई चासोका साथ हेरिएको छ । एमसीसी परियोजना जस्तै बजेट चीनले दिए नेपाल लिन तयार रहेको पनि प्रवक्ता महतले बताए ।
नेपालले चीनसँग कुरा गर्दा कतिपय नाकामा व्यवस्थित सडकको विषय उठाउँनु पर्ने अहिलेको आवश्यक्ता हो ।’ उनी भन्छन्, ‘एमसीसीबारे उहाँको कुनै चासो चिन्ता रह्यो भने स्पष्ट पार्न हामी तयार छौं, यो कुनै प्यान्डोराज बक्स होइन भनेर बुझाउन हामी सक्छौं ।’ चीनले पनि नेपालको हितमा हुनेगरी कुनै त्यस्तो लगानी गर्न चाहे देशहित अनुकुलका परियोजनाहरु स्वीकार्नु पर्ने उनले बताए ।
