काठमाडाैं, ११ चैत्र । नेपाल भ्रमणमामा आज आउने चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी को लागि उच्च सुरक्षा व्यवस्था सहित सम्पूर्ण तयारी पुरा भएको छ । चीनका विदेशमन्त्री वाङ भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ ।
नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले बताए । विदेशमन्त्री वाङको बासस्थानदेखि उनी सवार सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाउने तयारी गरिएको छ । बौद्ध, स्वयम्भू र हात्तीसार लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उनको स्वागतको भव्य तयारी गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । विमानस्थलमा विदेशमन्त्री वाङलाई परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीले स्वागत गर्नेछ । सहकार्य र विगतका साझेदारीका सवालमा थप छलफल र कार्यान्वयन नेपाली प्रतिनिधिमण्डल र चीनका विदेशमन्त्री वाङसहितको प्रतिनिधिमण्डलबीच द्विदेशीय सहकार्य र विगतका साझेदारीका सवालमा थप छलफल र कार्यान्वयन प्रगतिका विषयमा छलफल हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार केही नयाँ सम्झौता र सहमतिको तयारी पनि रहेको छ । तथापि जलविद्युत् परियोजना, ट्रान्स हिमालयन सम्पर्क सञ्जाल, बीआरआई परियोजनासँग सम्बन्धित विषयलाई नयाँ पहलसाथ अघि बढाउने विषयमा छलफल र सहमतिको आधार बनाइने मन्त्रालयले जनाएको छ । यीबाहेक कोभिड–१९ महामारीपछिको आर्थिक पुनःस्थापनाका साथै भविष्यमा आइपर्ने महामारीजन्य सङ्कटका लागि चीनले गर्नसक्ने थप सहयोगका विषयमा पनि एक खालको खाका मन्त्रालयले बनाएको छ ।
त्यसमा नेपालमा थप लगानीको अवसरका विविध क्षेत्रलाई खुट्याएर सरकारका तर्फबाट द्विपक्षीय वार्तामा अघि सारिने भएको छ ।नेपालसँग रेल्वे परियोजनालगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता यसअघि नै भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता रहेको मन्त्रालयले जनाएको छ ।
