काठमाडाैं,१२ चैत्र । स्थानीय तहको निर्वाचन आउन डेढ महिना मात्र बाँकी रहदा नेपाली कांग्रेस भित्र चुनावमा कसरी जाने भन्ने विवाद छ । स्थानीय स्तरिय नेता कार्यकर्ता र केन्द्रीय नेतृत्वबीचको धारणा फरक फरक पाइएको छ । अन्य दलहरु आफ्नो चुनावी तयारीकालागि टिकटको मापदण्ड बनाएर सम्भावित उम्मेदवारहरुको विवरण संकलनमा लागीसकेका छन् । तर सत्तारुढ दल कांग्रेसमा भने प्रत्येक चुनाव अघि हुने विवादको सृङ्खला पूनः दोहोरिएको छ ।
यस्ता विवाद र झमेलाले पार्टीको आन्तरिक जिवनमा प्रभाव पार्ने गरेको इतिहासलाई सम्झेर पार्टी नेतृत्वले वेलैमा समस्या समाधान गरी उम्मेदवारको टुगो लगाउने कुरामा ध्यान दिनु पर्ने हो । तरपनि कांग्रेसमा पुरानो प्रवृति दोहोरिने अवस्था आउन लागेको भन्दै इमान्दार नेता कार्यकर्ताहरु चिन्तीत छन् । नेपाली कांग्रेस भित्र उठेको अहिलेको बहसको विषय चुनावी तालमेल की एकल भन्ने हो । तत्लो तहका पार्टी संरचनाको नेतृत्व गर्नेहरु कांग्रेस एक्लै चुनाव भिड्ने बताउँदै आएका छन भने पार्टी हेडक्वाटार प्रमुख चुनावी तालमेलको पक्षमा छन् ।
विगतका निर्वाचनहरुमा कम्युनिष्टले दिएको धोका लाई स्थानीय स्तरका नेता कार्यकर्ताहरुले स्मरण गर्दै चुनावी तालमेल केन्द्रीय नेतृत्वको आवश्यक्ताका आधारमा गर्न नहुने तर्क गर्दै आएका छन् । तर पार्टी सभापति शेरबहादुर देउवा र उनी निकटका केही नेताहरु भने प्रचण्ड माधव नेपालसँग चुनावी गठबन्धन गरेरै जाने अडानमा छन् । ग्राउण्डको ब्रिफिङ गर्ने धेरैजसाे केन्द्रीय सदस्यहरु चुनावी एकता भुगोलको आवश्यक्ता अनुसार गर्ने गरी पार्टीको तल्लो तहको संरचनालाई अधिकार दिएर जान सकिने बताउँछन् । पार्टी केन्द्रीय समितिको बैठकमा पनि अधिकांश केन्द्रीय सदस्यहरुले सत्ता घटक दलसँग चुनावी गठबन्धन गर्न नहुने धारणा राखेका छन् ।
‘घरघर जाउ कांग्रेस जिताउ अभियान’अन्तर्गत जिल्ला खटिएका केन्द्रीय सदस्यले प्रतिनिधिका रुपमा तल्लो तहमा रहेको जनमतको रिपोर्टिङ गर्दै गठबन्धनको विपक्षमा निष्कर्ष सुनाएका थिए । ग्राउण्डको वास्तविक्ता रिपोर्टिङ गर्न बैठकमा बोलाइएका प्रदेश सभापतिहरुले समेत गठबन्धनप्रति कम्युनिस्टहरु इमान्दार नभएकाले तालमेल गर्दा भारतीय कंग्रेस आईको हालत हुनेसम्मका धारणा राखेका थिए । ‘भोट दिनेबेलामा कम्युनिस्टहरुको इमान्दारीता प्रति भुगोलमा प्रश्न उठिरहदा पार्टी नेतृत्वले कार्यकर्ता तहबाट आएको कुरालाई एक पटक सोच्नु पर्छ’, बैठकमा सहभागि एक केन्द्रीय सदस्यले भने,‘तर सभापति कार्यकर्ताको कुरा प्रति जंगिनुभयो, यो पार्टीका लागि घातक हुन सक्छ ।’
‘केपी ओलीको अधिनायकवादी प्रवृतिलाई परास्त गर्न गठबन्धन गर्नु पर्ने परिस्थिति छ’, उनले थपे, ‘तर चुनावी एलायन्स गर्न वस्तुगत आधार दिनसक्नुपर्छ । नत्र ब्याक फायर हुनसक्छ। प्रत्युत्पादक हुनसक्छ ।’ एलायन्स गर्दा केन्द्रबाट तोकेर होइन स्थानीय तहलाई नै निर्णय गर्ने अधिकार दिनुर्ने धेरै नेताहरुको धारण आएकाले त्यसलाई सभापतिले पनि मान्नु पर्ने धेरैको सुझाव छ । गठबन्धन गर्दा तल्लो तहलाई नै जिम्मेवारी दिनेगरी प्राथमिकतामा राख्नुपर्ने मत बैठकमा बलियो रुपमा उठेका छन् । सभापतिको अहिलेको चाहाना केन्द्रबाटै भागबण्डा गरेर गठबन्धन गर्ने भन्ने छ’, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भने, ‘तर अधिकांश केन्द्रीय सदस्य र पदाधिकारीको कुरा गठबन्धनको औचित्य र आवश्यक्ताका आधारमा निर्णय गर्ने गरी टिकट वितर गर्ने निकायलाई नै अधिकार दिएर जानु पर्ने राय छ ।’
विधानमा समेत माथिवाटै एलान्स गर्ने अधिकार नभएकाले सभापति ज्यू पनि लचक भएर सम्बन्धीत भुगोललाई नै अधिकार दिने कुरामा सहमत हुनुहुने छ’, उनले भने । सभापति शेरबहादुर देउवाले आफ्ना भाषणमा चुनावी गठबन्धन हुन्छ भनिरहेका बेला केन्द्रीय सदस्यहरुले विगतमा गठबन्धन गर्दा कम्युनिस्टबाट धोका भएको कुरा स्मरण गराएका थिए । गठबन्धन भएका पोखरा, चितवन, धरानको उदाहरणहरु नेताहरुले बैठकमा पेश गरेपछि सभापति देउवाले जंगिदै केन्द्रीय तथा जिल्ला तहका नेताहरुलाई एक्लै चुनाव जितेर देखाउन चुनौति दिए ।
उनको यो अभिव्यक्ति अनुसार पेलेरै जने मनस्थितिमा रहेको बुझिन्छ । ६२ हजार मत भएको ठाउँमा गठबन्धन गर्दा कम्युनिस्टलाई ४२ हजार आएको र त्यही ठाउँबाट कांग्रेसका उम्मेदवारलाई २० हजार पनि भोट नआएकाले केन्द्रमा गठबन्धन गरे पनि त्यसको पालना नभएको स्थानीय नेताहरुको दावी छ ।
बागमती बाहेक पाँच प्रदेशका सभापति भन्छन्, तालमेलको औचित्य के ?
रिपोर्टिङका लागि आमन्त्रण बैठकमा सहभागी प्रदेश सभापतिहरु समेत चुनावी तालमेलका औचित्य माथि प्रश्न उठाउदै आएका छन् । प्रदेश सभापतिहरु पक्ष विपक्षमा भएर दुइ धारमा उभिएका छन् । शुक्रबारको बैठकमा सुदूरपश्चिम बाहेक ६ जना प्रदेश सभापतिले धारणा राखे । जसमा बागमती प्रदेश सभापतिबाहेक पाँच सभापतिहरुले गठबन्धन जनमतको विपक्षमा रहेको धारण राखेको नेताहरुले बताएका छन् ।
‘गठबन्धन गर्ने हो भने पनि निर्णय गर्ने अधिकार तल्लो तहमा दिनुपर्छ भन्ने उहाँहरुको धारणा थियो,’ बैठकमा एक केन्द्रीय सदस्यले भने, ‘गण्डकी र लुम्बिनीका सभापितले गठबन्धन गर्न तल्लो तहको जनमत तयार छैन, नेतृत्वले विवेकपूर्ण ढंगले निर्णय गर्नुपर्छ भन्ने कुरा राख्नुभयो ।’ केन्द्रीय सदस्यहरुले विगतमा गठबन्धन गर्दा कम्युनिस्टबाट सधै धोका भएको, उनीहरु कहिले को सँग मिल्छन टुंगा नभएको, कांग्रेस प्रयोगमात्रै भएको भन्दै गठबन्धन नगर्न खबरदारी गरेपछि सभापति देउवाले ओलीको आतंक सम्झाएर तालेमल गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।
उनले चुनाव नजित्नेहरुले गठबन्धन नगर्न भनेको भन्दै पहिला चुनाव जितेर देखाउन चुनौती दिएका छन् । शुक्रबारको पार्टी बैठकमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले धारणा राखेका छन् ।
त्यसैगरी प्रदेश सभापतिहरु— उद्धव थापा (प्रदेशन नं. १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । अर्को बैठक आइतबार विहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने र बाँकी सदस्यहरुले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ । बाँकी केन्द्रीय सदस्यहरुको धारण आइसकेपछि निर्णयमा पुग्ने हुँदा स्थानीय तहको चुनावी तालमेल लगायत विषयमा पार्टीको आधिकारिक धारण अझै करिव ३ दिन लाग्ने केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।
यसरी ग्रउण्डको अवस्था बुझेर फर्केका नेताहरुको कुरालाई पार्टी नेतृत्वले हल्का रुपमा लिएर माथिबाटै गठबन्धनको जोडबल गर्दा पार्टीलाई क्षति पुग्ने संस्थापन इतर समुहको निष्कर्ष छ । सभापति देउवाले गठबन्धनका नाममा पार्टीका माथिल्लो तहका नेताहरुको व्यवस्थापन लाई मात्रै हेर्ने ढंगले कुरा अघि बढाएको र तल्लो तहका नेता कार्यकर्ताहरु त्यसको चेपुवामा पर्ने खतरलाई आकलन नगरिएको उनीहरुको बुझाइ छ । चुनावी अभियानमा गाउ केन्द्रीत हुनेबेलामा कांग्रेस भित्र गठबन्धनकै विषयलाई लिएर किचलो सुरु भएको छ ।
यसले पार्टीको आन्तरिक जिवनका सकारात्मक सन्देश नदिने हुदा पार्टीभित्र देखिएको मतभेट अन्त्य गर्दै छिटो भन्दा छिटो उम्मेदवारहरुको टुगो लगाएर भोटमाग्न पठाउने व्यवस्था मिलाउनका लागि मतएकताका साथ निर्णयमा पुग्नु जरुरी देखिन्छ । त्यो नै कांग्रेसको हितमा हुने छ । कांग्रेसले स्थानीय तहको चुनावमा समबन्धीत स्थानीय संरचनालाई आवश्यक्ता अनुसार तालमेल गरेर जाने जिम्मेवारी दिएपनि ७५३ स्थानीय तह मध्य ६ वटा महानगरपालिकामा भने केन्द्रीय तहलबाटै वर्तमान गठबन्धनलाई मिलाएर भाग बण्डा गरेर जाने गठबन्धन भित्रका सबै दलको पूर्व तयारी रहेको छ ।
