काठमाडाैं,१२ चैत्र । गैरआवासीय नेपाल संघ (एनआरएनए) को १० औं विश्व सम्मेलन शनिबार सुरु हुँदै गर्दा दुई दिनअघि नै उस्तै प्रकृतिको सम्मेलन गरिसकेको शेष घले पक्षले फेरि सम्मेलन गरिनुको औचित्य नभएको जिकिर गरेको छ । घले समूहले शनिबार उद्घाटन गर्न लागिएको संस्थापन पक्षको सम्मेलनलाई ‘राजनीतिक सम्मेलन’को संज्ञा दिएको छ।
गैरआवासीय नेपाली संघ गैरराजनीतिक संगठन भएको र आज गर्न लागेको सम्मेलन राजनीतिक संगठनको सम्मेलन भएकाले त्यसको औचित्य नभएको घले समूहको भनाइ छ । ‘यो त राजनीतिक सम्मेलन भयो । गैरआवासीय नेपाली संघ त गैरराजनीतिक हो । तर, उनीहरुले राजनीतिक आडभरोसामा सम्मेलन गर्दैछन्’, घले पक्षीय एनआरएनएका एक पदाधिकारीले भने । ती पदाधिकारीले आफूहरु तिर ठूलो संख्यामा सच्चा एनआरएनएहरु एकताबद्ध हुने बताउँदै राजनीतिक झोला बोक्नेहरू आफै सकिने जिकिर गरे ।
घले समूहको विश्व सम्मेलनले विनोद कुँवरलाई अध्यक्ष चयन गरेको थियो । घलेले नयाँ एनआरएनए बनाएसँगै अन्ततः एनआरएनए दुई वटा बनेको छ । करिब २० वर्ष लामो इतिहास बोकेको एनआरएनएमा राजनीति हावी भएकै कारणले विभाजित बनेको छ । घलेले एनआरएनए गैरराजनीतिक भएको भन्दै त्यसको अगुवाइ गरेर कुँवरको नेतृत्वमा संस्था खडा गरेका हुन् ।
यता संस्थापन समूहले भने घलेको महाधिवेशनलाई अवैधानिक भन्दै शनिबारदेखि तय भएको सम्मेलन मात्रै आधिकारिक भएको जिकिर गरेको छ । ललितपुरको एक होटलमा हुने सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।
सम्मेलनअघि नै बहुपदीय नेतृत्व मान्ने सहमतिअनुसार कुल आचार्य पनि संस्थापनतिरै गएका थिए । एनआरएनएमा लामो समयदेखि राजनीतिको छाया देखिँदा समयमा सम्मेलन समेत हुन नसकेको थिएन भने अहिले एक समूहबीच सहमति भएपनि संस्था भने एकताबद्ध हुन नसकेको हो । सामाजिक संस्थाका रुपमा रहेको एनआरएन पछिल्लो समय आफ्नै कारणले विवादको भूमरीमा रहेको छ ।
