• ट्रेण्डिङ्ग :
‘निर्वाचनलाई निष्पक्ष शान्तिपूर्ण बनाउनूस्’

‘निर्वाचनलाई निष्पक्ष शान्तिपूर्ण बनाउनूस्’


  • 1.1K
    SHARES
    • फाल्गुण १०, २०८२ आइतबार
    • ८ महिना अघि
    • 1.7K Views

    ‘निर्वाचनलाई निष्पक्ष शान्तिपूर्ण बनाउनूस्’

    भैरहवा, फागुन १० गते । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार साँझ बुटवल आएकी प्रधानमन्त्री कार्कीले शनिबार बिहान लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्वाचन निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण बनाउन निर्देशन दिनुभएको हो ।

    images

    प्रदेशका सुरक्षा अधिकारीको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै भन्नुभयो, “अहिले सरकारको मुख्य कार्यादेश निर्वाचन भएकाले यसैमा ध्यान केन्द्रित गर्न आग्रह गर्न चाहन्छु ।” उहाँले फागु पूर्णिमा (होली) आउँदै गरेको र हिमाली क्षेत्र खास गरी रुकुमपूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्या देखा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएसँगै अबको सुरक्षा रणनीति र सरकारको योजनाबारे निर्देशन दिनुभएको छ । 

    बैठकमा सहभागी सुरक्षा अधिकारीले भारतको सीमासँग जोडिएको ५१४ किलोमिटर खुला क्षेत्र तराईका छ जिल्लाको मुख्य चुनौती भएको र पहाडी जिल्लामा अलग अलग सुरक्षा चुनौती भए पनि सुरक्षा निकायले त्यसलाई रोक्न सक्ने रणनीतिसाथ अघि बढेको प्रधानमन्त्रीलाई जानकारी दिइएको प्रमुख सचिव काप्रीले बताउनुभयो । उहाँका अनुसार तीन तहको सुरक्षा रणनीति बनाएर निर्वाचनलाई सफल बनाउन अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर जाने निर्णय भएको छ । बैठकमा सुरक्षा निकायका प्रमुखसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लागत अवस्थाबारे जानकारी गराउनुभएको थियो । तराईका जिल्ला प्रमुख अधिकारीले प्रमुख साझा चुनौती सीमा क्षेत्र रहेको ५१४ किलोमिटर खुला सीमालाई भारतका अधिकारीसँग समन्वय गर्ने बताएका थिए । बैठकमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, मध्यपश्चिम पृतनापति हिम्मतबहादुर विष्ट, प्रदेश प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीसहितका सुरक्षा अधिकारीले आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुभएको थियो । 

    प्रधानमन्त्रीद्वारा लुम्बिनी भ्रमण

    प्रधानमन्त्री कार्कीले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ । विश्व शान्तिको प्रतीक तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, विकास र अन्तर्राष्ट्रिय प्रवर्धनलाई प्राथमिकतामा राख्दै उहाँ लुम्बिनी पुग्नुभएको हो ।

    लुम्बिनी आगमनका क्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले प्रधानमन्त्री कार्कीलाई औपचारिक रूपमा स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्का, विश्व पौडेललगायत कोषका पदाधिकारी तथा कर्मचारीको उपस्थिति थियो ।

    भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले मायादेवी मन्दिरमा दर्शन गर्नुभयो । उहाँले बुद्धको जन्मस्थलको ऐतिहासिक र धार्मिक महत्वबारे जानकारी लिँदै संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यसै गरी उहाँले थाई विहारलगायत लुम्बिनी क्षेत्रभित्रका विभिन्न अन्तर्राष्ट्रिय विहार तथा संरचनाको पनि अवलोकन गर्नुभएको छ । उहाँले लुम्बिनी केवल नेपालको मात्र नभई सम्पूर्ण विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी विकास कोष, स्थानीय समुदाय र सरोकारवालाबिच समन्वय गरेर दीर्घकालीन गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।

    लुम्बिनी विकास कोषका पदाधिकारीले प्रधानमन्त्री कार्कीसमक्ष हालसम्म भएका विकास निर्माणका कार्य, भावी योजना तथा देखिएका चुनौतीबारे जानकारी गराएका थिए । प्रधानमन्त्री कार्कीले ती विषयमा चासो व्यक्त गर्दै आवश्यक नीतिगत तथा संरचनागत सहयोग सरकारबाट उपलब्ध गराइने आश्वासन दिनुभयो । 


    तेस्रो आँखा