• ट्रेण्डिङ्ग :
रामेछाप दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो

रामेछाप दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो


  • 2.2K
    SHARES
    • फाल्गुण १८, २०८२ सोमबार
    • ८ महिना अघि
    • 3.4K Views

    रामेछाप दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो

    रामेछाप, फागुन १८ । निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परी रामेछापमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा. केशव धामीले जानकारी दिनुभयो।

    images

    मन्थली अस्पतालमा उपचारकै क्रममा ज्यान गुमाउने व्यक्ति डोरप्रसाद घिमिरे रहेको बताइएको छ। उहाँ रामेछाप नगरपालिका –२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत हुनुहुन्थ्यो। मृतक घिमिरे मन्थली नगरपालिका –७ स्थित रुद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत रहेको खुलेको छ । 

    सोमबार अपरान्ह निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको निशान ट्रक रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको सिरुवारी भिरबाट खसेको थियो। दुर्घटनामा ६ जना घाइते भएका थिए । ३ जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। यसअघि दुर्घटनास्थलमै नेपाल प्रहरीका असई आरपी यादवको मृत्यु भएको थियो।

    रामेछाप नगरपालिका –२ स्थित शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रवीराज खड्काका अनुसार उहाँसहित ३ जना गाडीबाट हाम फालेर बाँच्न सफल भएका हुन्। दुर्घटनामा घाइते भएका २ जना पुरुष र ३ जना महिलालाई उपचारका लागि नेपाली सेना को हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिनुभयो।


    तेस्रो आँखा