काठमाडौ , चैत १५ ।नेपाली काँग्रेस संखुवासभा जिल्ला कार्यसमितिले पूर्वमन्त्री तथा पार्टी नेता दीपक खड्काको पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा जिल्ला कार्यसमितिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत गरिएको उक्त पक्राउप्रति ध्यानाकर्षण भएको जनाएको हो। काँग्रेसले लोकतान्त्रिक मूल्य, विधिको शासन र मानवअधिकारप्रति प्रतिबद्ध एक जिम्मेवार नेतामाथि गरिएको यस्तो कारबाही राजनीतिक पूर्वाग्रहबाट प्रेरित देखिएको ठहर गरेको छ।
विज्ञप्तिमा कुनै व्यक्तिमाथि आरोप लागेमा कानुनी प्रक्रिया अनुसार पहिले बोलाएर अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै एक्कासी धरपकड गरि पक्राउ गर्ने शैलीले विधिको शासनमाथि नै प्रश्न उठाएको उल्लेख गरिएको छ।
काँग्रेसले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित पछिल्ला घटनाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्ता घटनाले राज्यशक्ति राजनीतिक प्रतिशोधका रूपमा प्रयोग भइरहेको आशंका बढाएको बताइएको छ।
फरक राजनीतिक विचार राख्ने नेताहरूलाई लक्षित गरी गरिने कार्यवाहीले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने र मुलुकलाई अनावश्यक द्वन्द्वतर्फ धकेल्ने खतरा रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
जिल्ला कार्यसमितिले पूर्वमन्त्री दीपक खड्कासहित सम्बन्धित नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्न माग गर्दै यस्ता गतिविधि तुरुन्त रोक्न सरकारसँग आग्रह गरेको छ।
साथै, सुरक्षा निकायहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाबमा नपरी स्वतन्त्र, निष्पक्ष र कानुनी दायराभित्र रही आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरिएको छ।
