तनहुँ, जेठ १२ गते । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ ले नागढुङ्गा सुरुङमार्ग आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।
उपसमितिका संयोजक एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेको टोलीले आयोजनाको भौतिक प्रगति, प्राविधिक चुनौती र कार्यसम्पादनको अवस्थाबारे आज मंगलबार विस्तृत निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा उपसमितिले सुरुङमार्गको भित्री संरचना, पहुँच मार्ग (एप्रोच रोड), फ्लाइओभर निर्माणको अन्तिम तयारी तथा सुरक्षा प्रबन्धका विषयमा आयोजनाका स्वेदेशी तथा विदेशी इन्जिनियरहरूसँग ब्रिफिङ लिएको थियो । राष्ट्रिय गौरवको यस आयोजनालाई समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन देखिएका कानुनी, व्यावहारिक र व्यवस्थापकीय बाधा अड्चनका विषयमा टोलीले स्थलगत अध्ययन गरेको छ।
निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसमितिका संयोजक न्यौपानेले स्थलगत अध्ययनका क्रममा देखिएका प्राविधिक तथा आर्थिक पक्षहरूलाई समेटेर संसदीय समितिमा चाँडै विस्तृत प्रतिवेदन बुझाइने जानकारी दिनुभयो । आयोजनाको भौतिक प्रगति सकारात्मक देखिए पनि प्राविधिक र व्यवस्थापकीय पक्षमा अझै केही सुधार गर्नुपर्ने ठाउँहरू रहेमो संयोजक न्यौपानेले बताउनुभयो ।
देशका गौरवका आयोजनाहरूमा हुने प्रशासनिक र नीतिगत ढिलासुस्ती अन्त्य गर्न समिति लागि परेको उहाँले बताउनुभयो ।
सो क्रममा संयोजक न्यौपानेले विगतमा कोभिड महामारीको कठिन समयमा आफूले यसै आयोजनाको निर्देशक का रूपमा २४ सै घण्टा काम गराई जटिल भूमिगत निर्माण कार्य अगाडि बढाएको अनुभव सुनाउँदै, राष्ट्रिय गौरवका आयोजनामा त्यस्तै दृढ इच्छाशक्ति र इमानदार नेतृत्वको आवश्यकता रहेको औंल्याउनुभयो ।
सुरुङले पहाडको अन्धकार चिरेर उज्यालो मार्ग खोले झैँ अब विकास र नीतिगत सुधारका माध्यमबाट मुलुकका विकृति र विसंगति अन्त्य गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । उपसमितिले नागढुङ्गा सुरुङमार्गसहित देशका अन्य ठुला पूर्वाधार आयोजनाहरूको समेत अनुगमन गरी राष्ट्रिय विकासलाई गति दिन एकीकृत प्रतिवेदन संसद्मा पेस गर्ने तयारी गरेको छ ।
