• ट्रेण्डिङ्ग :
जलवायु परिवर्तनले हिमाली क्षेत्र जोखिममा: राष्ट्रपति पौडेल

जलवायु परिवर्तनले हिमाली क्षेत्र जोखिममा: राष्ट्रपति पौडेल


  • 924
    SHARES
    • जेठ १३, २०८३ बुधबार
    • ५ महिना अघि
    • 1.4K Views

    जलवायु परिवर्तनले हिमाली क्षेत्र जोखिममा: राष्ट्रपति पौडेल

    काठमाडौँ, जेठ १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभएको छ ।

    images

    राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा बुधबार यहाँ आयोजित Everest Summitters Breakfast with President of Nepal कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।

    “सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभएर सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो । यी सम्पदाको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ,” उहाँले भन्नुभयो ।

    तथापि, विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको उहाँको भनाइ थियो ।

    “यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता हो,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

    हिमाल र हिमाली पर्यावरणको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य, संवाद तथा सचेतना अभिवृद्धि गर्न विश्वभरिका सगरमाथा आरोहीलाई एकै ठाउँमा भेला गराएर सगरमाथासहित हिमाली क्षेत्रका बहुआयामिक पक्षबारे सार्थक छलफल हुने यस सम्मेलनको विशेष महत्व रहेको उहाँले धारणा व्यक्त गर्नुभयो ।

    “आरोहणका क्रममा भोगाइ र अनुभवबाट प्राप्त ज्ञान नेपाल र नेपालीको मात्र नभएर विश्वकै गौरव, शान र पहिचानका रूपमा रहेको सगरमाथालाई यसको प्राकृतिक स्वरूपमा जीवन्त राख्न पनि यस सम्मेलनले विशेष ध्यान दिने मैले विश्वास लिएको छु,” राष्ट्रपति पौडेलले भन्नुभयो ।


    तेस्रो आँखा