काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक खड्काले पार्टीको १५ औं महाधिवेशनको संघारमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने बहानामा कार्यकर्तामाथि डर र त्रास सिर्जना नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । पार्टीभित्र आन्तरिक लोकतन्त्र र संगठन सुदृढीकरणको बहस चलिरहँदा नेतृत्वले सदस्यतालाई ‘हतियार’ बनाएर इमानदार कार्यकर्तालाई पन्छाउन खोजेको भन्दै उनले कडा आपत्ति जनाएका हुन् ।
पार्टीको १५ औं महाधिवेशनका लागि २०८२ साल पुस १० गतेसम्म क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य सम्पन्न भइसकेको पृष्ठभूमिमा अहिले फेरि अद्यावधिकका नाममा कार्यकर्तालाई निरुत्साहित पार्ने काम भइरहेको खड्काको आरोप छ । वैशाखभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी सहमति भइसकेको अवस्थामा सदस्यता छानबिन र अद्यावधिकका नाममा कार्यकर्तामाथि अनावश्यक दबाब, धाकधम्की र निष्कासनको डर देखाउने प्रवृत्ति बढेको उनले बताएका छन् ।
‘नेपाली कांग्रेस कसैको आदेश वा हैकममा चल्ने पार्टी होइन, यो वीपीको विचार, नीति, विधान र लोकतान्त्रिक मूल्यमा चल्ने पार्टी हो,’ नेता खड्काले भनेका छन्, ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रह राखेर सोधिने स्पष्टीकरण वा सदस्यता खारेजीको धम्कीको कुनै तुक छैन । कांग्रेस नेताले मात्र होइन, गाउँ–गाउँमा रहेका इमानदार कार्यकर्ताले जोगाएको पार्टी हो ।’
विशेषगरी संखुवासभा लगायतका भौगोलिक रूपमा जटिल र विकट जिल्लाहरूमा सदस्यता अद्यावधिकको प्रक्रियामा व्यावहारिक कठिनाइ देखिएको भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । ती जिल्लाका कार्यकर्ताले असहजता र दुःख भोगिरहेको अवस्थामा नेतृत्वले अभिभावकीय भूमिका खेल्नुको साटो गुटगत स्वार्थका आधारमा अघि बढ्न खोजेको उनको टिप्पणी छ । खड्काले अद्यावधिकको नाममा गुटलाई प्रश्रय दिने र वर्षौंदेखि निष्ठापूर्वक लागेका कार्यकर्ताको अपमान गर्ने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।
उनले २०८२ साल पुस १० गतेसम्म नवीकरण भएका र नयाँ वितरणमार्फत प्राप्त भएका सबै क्रियाशील सदस्यहरूको महाधिवेशनमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । सदस्यताको विषयलाई लिएर इमानदार र सिद्धान्तनिष्ठ कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै उनले कार्यकर्ताको अधिकार र सहभागिता सुनिश्चित गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
नेता खड्काले स्वदेश तथा विदेशमा रहेका कांग्रेसका नेता, कार्यकर्ता र भ्रातृ संस्थाका सदस्यहरूलाई कुनै पनि भ्रम वा अन्योलमा नपरी महाधिवेशनको सुनिश्चितताका लागि सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरेका छन् । पार्टीको आन्तरिक एकता र संगठनको मजबुतीका लागि यथाशक्य छिटो महाधिवेशनको वातावरण बनाउनुपर्ने उनको ठहर छ ।
