• ट्रेण्डिङ्ग :
कालीगण्डकी आयोजना समयमै सम्पन्न गर्न निर्देशन

कालीगण्डकी आयोजना समयमै सम्पन्न गर्न निर्देशन


  • 1.7K
    SHARES
    • आषाढ १४, २०८३ आइतबार
    • ४ महिना अघि
    • 2.6K Views

    कालीगण्डकी आयोजना समयमै सम्पन्न गर्न निर्देशन

    तनहुँ, असार १४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तनहुँको देवघाट गाउँपालिका–५ साँढेबगरमा निर्माणाधीन ४७.७ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत् आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ ।

    images

    निर्माणस्थलको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको प्रगति, निर्माण व्यवस्थापन तथा समग्र कार्यान्वयन अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले मुलुकको ऊर्जा विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने आयोजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्न जोड दिनुभएको थियो । तनहुँ र नवलपुरको सीमाबाट बग्ने कालीगण्डकी नदीमा निर्माण हुन लागेको उक्त आयोजनाको अनुमानित लागत १० अर्ब १५ करोड रुपियाँ रहेको छ । आयोजनामा आवश्यक कुल लगानीमध्ये ७५ प्रतिशत अर्थात् सात अर्ब ६० करोड रुपियाँ ऋण लगानीमार्फत जुटाइने भएको छ भने बाँकी २५ प्रतिशत लगानी प्रवद्र्धक कम्पनीले गर्नेछ ।

    ऋण लगानीको नेतृत्व कृषि विकास बैंकले गर्नेछ । सह–नेतृत्वकर्ताका रूपमा सिटिजन्स बैंक इन्टरनेसनल रहनेछ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), प्रभु बैंक, लक्ष्मी सनराइज बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंक सदस्य वित्तीय संस्थाका रूपमा सहभागी हुनेछन् ।

    नेपालमै पहिलो पटक ‘ड्याम टु टो’ अवधारणामा निर्माण हुन लागेको यस आयोजनामा बाँधकै मुनि विद्युत्गृह निर्माण गरिनेछ । यसका कारण मुख्य सुरुङ निर्माण गर्नुपर्ने आवश्यकता नपर्ने जनाइएको छ । आयोजनाले ३००.२२ घनमिटर प्रतिसेकेन्ड पानी उपयोग गरी १९.७४ मिटरको हेडबाट विद्युत् उत्पादन गर्नेछ ।

    आयोजना सम्पन्न भएपछि वार्षिक २७९.९५७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत आठ किलोमिटर टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको आँपटारी सबस्टेसनमा जोडिनेछ । मन्त्री श्रेष्ठले शुक्रबार स्थलगत निरीक्षण गर्नुभएको थियो ।

    आयोजनाअन्तर्गत निर्माण हुने जलाशय करिब १५ किलोमिटर लामो हुनेछ । यसबाट देवघाट गाउँपालिका–१ का केही भूभाग डुबानमा पर्नेछ । २०६४ सालदेखि विभिन्न चरणमा अघि बढाइएको आयोजनालाई हाल आंशिक जलाशययुक्त आयोजनाका रूपमा विकास गर्न लागिएको हो । भविष्यमा यसलाई पम्प स्टोरेज आयोजनाका रूपमा विस्तार गर्ने योजना समेत रहेको कम्पनीले जनाएको छ । यसै क्रममा मन्त्री श्रेष्ठले देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रम परिसरको पहिरोग्रस्त क्षेत्रको समेत अवलोकन गर्नुभएको थियो । उहाँले पहिरोको अवस्था, सम्भावित जोखिम र न्यूनीकरणका उपायबारे स्थानीय सरोकारवाला तथा प्राविधिकसँग छलफल गर्नुभएको थियो ।


    तेस्रो आँखा