• ट्रेण्डिङ्ग :
विचार
जापानमा बढ्दो नेपालीको असामयिक निधन:  रोकथामको लागि सामूहिक जिम्मेवारी आवश्यक

जापानमा बढ्दो नेपालीको असामयिक निधन:  रोकथामको लागि सामूहिक जिम्मेवारी आवश्यक


  • 3.6K
    SHARES
    • आषाढ २३, २०८३ मंगलबार
    • २ महिना अघि
    • 5.5K Views

    जापानमा बढ्दो नेपालीको असामयिक निधन:  रोकथामको लागि सामूहिक जिम्मेवारी आवश्यक

    जापानमा पछिल्ला १० महिनामा ७२ नेपालीको मृत्यु भएको र तीमध्ये २८ जना विद्यार्थीले आत्महत्या गरेको तथ्य अत्यन्तै गम्भीर र चिन्ताजनक छ। रोजगारी, उच्च शिक्षा र उज्ज्वल भविष्यको सपना बोकेर जापान आएका नेपाली युवाको जीवन यसरी असामयिक र अकालमा अन्त्य हुनु केवल एउटा व्यक्तिगत घटना होइन, यो नेपाल र जापान दुवैमा रहेका सम्बन्धित निकायका लागि गम्भीर सामाजिक, शैक्षिक र नीतिगत चुनौती हो।

    images

    धेरै नेपाली विद्यार्थी जापान पुग्नुअघि वास्तविक अवस्थाबारे पर्याप्त जानकारी नपाई ठूलो ऋण लिएर आउने गरेका छन्। जापान पुगेपछि भाषाको कठिनाइ, महँगो जीवनशैली, सीमित काम गर्ने कानुनी समय, अध्ययनको दबाब, परिवारको आर्थिक अपेक्षा र मानसिक तनावले धेरैलाई एक्लोपन र निराशातर्फ धकेलिरहेको देखिन्छ। कतिपयले आफ्नो पीडा कसैसँग बाँड्न नसक्दा अवस्था झन् जटिल बन्छ।

    जापानमा असामयिक निधन भएपछि शव व्यवस्थापन गर्न, दाहसंस्कार गर्न र शवलाई नेपाल पठाउन बेला-बेलामा नेपाली दूतावास जापान र एनआरएनए जापानले विशेष पहल गरेता पनि यस्ता घटनाहरूको रोकथाम र मृत्युका घटनालाई न्यूनीकरण गर्न नेपाल सरकार, नेपाली दूतावास जापान र एनआरएनए जापानले अभियानको रुपमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्नुपर्ने देखिन्छ ! 
    यस्ता घटनालाई केवल “व्यक्तिगत कमजोरी” भनेर टार्न मिल्दैन। यसको जिम्मेवारी विद्यार्थी, अभिभावक, कन्सल्टेन्सी, भाषा विद्यालय, रोजगारदाता, नेपाली राजदूतावास, एनआरएन तथा नेपाल सरकार सबैले साझा रूपमा लिनुपर्छ। 

    नेपाली राजदूतावास जापानले गर्नुपर्ने काम :-
    राजदूतावासले केवल कूटनीतिक काममा सीमित नभई नेपाली समुदायको सुरक्षा र कल्याणलाई प्राथमिकतामा राख्नुपर्छ।
    •जापान आउने प्रत्येक नेपालीका लागि अनिवार्य अभिमुखीकरण (Orientation) कार्यक्रम सञ्चालन गर्ने।
    •नेपाली भाषामा २४ घण्टा सञ्चालन हुने आपत्कालीन हेल्पलाइन र मानसिक स्वास्थ्य सहायता सेवा सुरु गर्ने।
    •आत्महत्याको जोखिममा रहेका वा सम्पर्कविहीन नेपालीलाई पहिचान गर्न स्थानीय नेपाली संस्थासँग समन्वय गर्ने।
    •मृत्यु भएका नेपालीको शव व्यवस्थापन, कानुनी प्रक्रिया र परिवारलाई आवश्यक सहयोगका लागि छुट्टै आपत्कालीन संयन्त्र बनाउने।
    •जापानका विभिन्न क्षेत्रमा नियमित रूपमा नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने।
    •जापानी प्रशासन, अस्पताल र प्रहरीसँग सहकार्य बढाएर संकटमा परेका नेपालीलाई तत्काल सहयोग पुर्‍याउने।

    एनआरएन जापान र नेपाली संघसंस्थाको भूमिका:-
    एनआरएन जापान र विभिन्न सामाजिक संस्थाहरूले समुदायलाई जोड्ने सेतु बन्नुपर्छ।
    •नयाँ आउने विद्यार्थी र श्रमिकका लागि “मेन्टोर प्रणाली” लागू गर्ने।
    •मानसिक स्वास्थ्य, कानुनी जानकारी र आर्थिक व्यवस्थापन सम्बन्धी निःशुल्क परामर्श उपलब्ध गराउने।
    •एक्लोपन कम गर्न सांस्कृतिक, खेलकुद र सामाजिक भेटघाट नियमित आयोजना गर्ने।
    •संकटमा परेका नेपालीलाई तत्काल आर्थिक तथा सामाजिक सहयोग गर्ने आपत्कालीन कोष स्थापना गर्ने।
    •नेपाली समुदायमा “समस्या लुकाउने होइन, साझा गर्ने” संस्कृतिको विकास गर्न अभियान सञ्चालन गर्ने।

    नेपाल सरकारले तत्काल गर्नुपर्ने सुधार:-
    नेपालबाट विदेश पठाउने प्रक्रिया अझ व्यवस्थित बनाउन आवश्यक छ।
    •विद्यार्थी पठाउने कन्सल्टेन्सीलाई कडा नियमन गर्ने।
    •जापानको वास्तविक जीवन, खर्च, भाषा, काम र कानुनी व्यवस्थाबारे अनिवार्य पूर्व-प्रस्थान तालिम लागू गर्ने।
    •विद्यार्थी भिसामा जानेहरूलाई पनि वैदेशिक रोजगार बोर्डको कुनै न कुनै सुरक्षा प्रणालीभित्र ल्याउने।
    •आकस्मिक मृत्यु वा शव व्यवस्थापनका लागि विशेष राहत कोष स्थापना गर्ने।
    •जापानका भाषा विद्यालय र रोजगारदातासँग सरकारी तहमा नियमित समन्वय बढाउने।

    कन्सल्टेन्सी र भाषा विद्यालयको जिम्मेवारी:-
    विद्यार्थी आकर्षित गर्न केवल आकर्षक सपना देखाउनु पर्याप्त होइन।
    •कामको शतप्रतिशत ग्यारेन्टी दिने भ्रामक प्रचार बन्द गर्नुपर्छ।
    •विद्यार्थीलाई वास्तविक मासिक खर्च, आम्दानी, कर, स्वास्थ्य बिमा र अध्ययनको जिम्मेवारी स्पष्ट रूपमा बुझाउनुपर्छ।
    •जापानी भाषाको न्यूनतम स्तर हासिल नगरी विद्यार्थी पठाउने प्रवृत्तिमा नियन्त्रण गर्नुपर्छ।
    •विद्यार्थी जापान पुगेपछि पनि नियमित रूपमा उनीहरूको अवस्थाबारे अनुगमन गर्नुपर्छ।

    जापान आउन चाहने नेपालीले कस्तो मनस्थिति बनाउनुपर्छ ?
     जापान अवसरको देश हो, तर सजिलो देश होइन। जापान आउनुअघि सबैभन्दा पहिले वास्तविकता स्वीकार्नुपर्छ। यहाँ पैसा टिप्न पाइँदैन; समय, अनुशासन, भाषा र निरन्तर मेहनतबाट मात्रै सफलता प्राप्त हुन्छ। विद्यार्थीले जापानी भाषा राम्रोसँग सिकेर आउनुपर्छ। कम्तीमा केही महिनाको जीवनयापन खर्च साथमा लिएर आउनुपर्छ। नेपालमा परिवारले पनि तत्काल धेरै पैसा पठाइहाल्छ भन्ने अपेक्षा राख्नु हुँदैन। यदि मानसिक तनाव बढिरहेको छ भने साथी, शिक्षक, वरिष्ठ नेपाली वा सम्बन्धित संस्थासँग खुलेर कुरा गर्नुपर्छ। सहयोग माग्नु कमजोरी होइन, परिपक्वता हो।

    नेपाली समुदायले अपनाउनुपर्ने बानी:-
    •नयाँ आएका नेपालीलाई परिवारको सदस्य सरह सहयोग गर्ने।
    •समस्या देख्दा मौन नबस्ने।
    •आत्महत्या वा मानसिक तनावका संकेतलाई सामान्य रूपमा नलिने।
    •सामाजिक सञ्जालमा केवल सफलता होइन, वास्तविक अनुभव पनि साझा गर्ने।
    •एकअर्कालाई कानुनी रूपमा सुरक्षित रहन प्रेरित गर्ने।

    जनचेतना कसरी फैलाउने ?
    अब केवल शोक व्यक्त गरेर पुग्दैन। दीर्घकालीन चेतना अभियान आवश्यक छ।
    •सामाजिक सञ्जालमा “सुरक्षित जापान अभियान” सञ्चालन गर्ने।
    •युट्युब, फेसबुक र टिकटकमार्फत वास्तविक अनुभवमा आधारित चेतनामूलक भिडियो तयार गर्ने।
    •भाषा विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी नियमित सेमिनार सञ्चालन गर्ने।
    •प्रत्येक नेपाली संस्थाले वर्षमा कम्तीमा एकपटक “मानसिक स्वास्थ्य तथा सुरक्षित बसाइ” कार्यक्रम आयोजना गर्ने।
    •दूतावास, एनआरएन, विद्यार्थी संगठन र सञ्चारमाध्यम मिलेर संयुक्त जनचेतना अभियान सञ्चालन गर्ने।


    बिरेन्द्र पौडेल
    लेखकबाट थप