• ट्रेण्डिङ्ग :
जापानका लागि जिज्ञानकुमार थापा राजदूतमा सिफारिस

जापानका लागि जिज्ञानकुमार थापा राजदूतमा सिफारिस


  • 1.2K
    SHARES
    • आश्विन ३, २०८३ शनिबार
    • १ घण्टा अघि
    • 1.9K Views

    जापानका लागि जिज्ञानकुमार थापा राजदूतमा सिफारिस


    टोकियो । नेपाल सरकारले जापानका लागि नेपाली राजदूतमा जिज्ञानकुमार थापालाई सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित विभिन्न १३ देशका लागि राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको हो।  जापानका लागि प्रस्तावित थापा नेपाल–जापान सम्बन्ध, अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलाका जानकारका रूपमा परिचित छन्। जापानसँग लामो समयदेखि जोडिँदै आएका उनले दुई देशबीचको सम्बन्ध विस्तार तथा उच्चस्तरीय भ्रमण र कार्यक्रमहरूको सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। जापानका लागि जिज्ञानकुमार थापाको सिफारिससँगै जापानमा रहेका नेपाली समुदाय तथा नेपाल–जापान सम्बन्धका क्षेत्रमा उनको सम्भावित भूमिकाबारे चासो बढेको छ।
               
    जिज्ञानकुमार थापाले दुई दशकभन्दा बढी समय नेपाल–जापान सम्बन्ध अभिवृद्धिका विभिन्न क्षेत्रमा काम गरेका छन्। उनले योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानुनमा स्नातकोत्तर र शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका छन्। सन् २००९ देखि कानागावा इन्टरनेसनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलासम्बन्धी विज्ञका रूपमा काम गर्दै आएका थापा सन् २००५ देखि नेपाल–जापानबीचका उच्चस्तरीय द्विपक्षीय कार्यक्रम तथा भ्रमणको सहजीकरणमा समेत संलग्न रहँदै आएका छन्। 
               
    नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीहरूको जापान भ्रमणका क्रममा जापानी पक्षसँग हुने द्विपक्षीय भेटवार्ता तथा विभिन्न कार्यक्रमको भाषिक र समन्वयात्मक सहजीकरणमा पनि उनले भूमिका निर्वाह गरेका छन्। राष्ट्रपतिको औपचारिक जापान भ्रमणका क्रममा आयोजित नेपाल–जापान व्यापार संवादको आयोजना तथा सहजीकरणमा समेत थापाको भूमिका रहेको बताइएको छ। नेपाल पर्यटन बोर्डका गन्तव्य प्रवर्द्धन कार्यक्रमदेखि ओसाका एक्स्पोजस्ता अन्तर्राष्ट्रिय मञ्चसम्म नेपालसम्बन्धी कार्यक्रमहरूमा उनले सहजीकरण गर्दै आएका छन्।
                  
    जापानी भाषामा दक्ष थापाले जापानका विभिन्न विश्वविद्यालयमा अध्यापन तथा अनुसन्धानसम्बन्धी कामसमेत गर्दै आएका छन्। सुकुबा, ओयामा गाकुइन र निहोन युनिभर्सिटीलगायतका विश्वविद्यालयमा सह–प्राध्यापकका रूपमा अध्यापन गरेको विवरण सार्वजनिक भएका छन्। अन्तर्राष्ट्रिय सहकार्य तथा आप्रवासन सुशासनका विभिन्न पहलमा जाइका (JICA), युनिसेफ (UNICEF) तथा जापानका स्थानीय सरकारहरूसँग पनि उनले सहकार्य गरेका छन्। जापानस्थित नेपाली समुदायसँग पनि उनको लामो समयदेखिको सम्बन्ध रहेको छ। उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्व महासचिव तथा जापानस्थित नेपाली विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहिसकेका छन्। नेपाल–जापान सम्बन्ध, सार्वजनिक प्रशासन तथा बहुसांस्कृतिक विषयमा उनले लेखन तथा अध्ययनसमेत गर्दै आएका छन्।   

    images

    जापानमा लामो समयदेखि बस्दै आएका थापाले जापानी सञ्चारमाध्यममार्फत नेपालको पर्यटन, संस्कृति तथा नेपाली समाजबारे जानकारी प्रवाह गर्दै आएका छन्। जापानमा रहेका नेपाली समुदायका समस्या, अवसर तथा दुई देशबीचको जनस्तरीय सम्बन्धबारे पनि उनी जानकार मानिन्छन्।
    उनको जापानको स्थानीय प्रशासन, शैक्षिक क्षेत्र, सरकारी तथा गैरसरकारी संस्था र नेपाली समुदायसँगको लामो अनुभवलाई नेपाल–जापान सम्बन्धका लागि उपयोगी हुन सक्ने आधारका रूपमा हेरिएको छ। 

    मन्त्रिपरिषद्ले राजदूतका लागि सिफारिस गरेसँगै थापाको नाम अब संसदीय सुनुवाइ प्रक्रियामा जानेछ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि प्रस्तावित राजदूतको नाम सम्बन्धित मुलुकबाट एग्रिमो -सहमति_ प्राप्त गर्न पठाइनेछ।

    जापान सरकारबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया पूरा हुनेछ। त्यसपछि मात्र थापा जापानका लागि नेपालको राजदूतका रूपमा कार्यभार सम्हाल्नेछन् । थापाको अनुभव र क्षमताले नेपाल जापानबीचको सम्बन्धलाई अझ प्रगाढ र नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने छ भन्नेमा जापानवासी नेपालीहरुले अपेक्षा गरेका छन्।


    बिरेन्द्र पौडेल
    लेखकबाट थप