हिमालय संरक्षण र आर्थिक रूपान्तरणको मुद्दा चीनमा उठ्यो

हिमालय संरक्षण र आर्थिक रूपान्तरणको मुद्दा चीनमा उठ्यो


  • 664
    SHARES
    • आश्विन २८, २०८३ बुधबार
    • २ हप्ता अघि
    • 1.0K Views

    हिमालय संरक्षण र आर्थिक रूपान्तरणको मुद्दा चीनमा उठ्यो

    काठमाडौं, असोज २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले हिमालय संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा उद्योग, शिक्षा र प्रविधिमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

    images

    चिनियाँ जनताको वैदेशिक मैत्री संघद्वारा “दिगो भविष्यका लागि गुणात्मक वृद्धिमा साझेदारी” भन्ने नारासहित चीनमा आयोजित सन् २०२६ को लेजिस्लेटर्स फोरम फर फ्रेन्ड्ली एक्सचेन्जेसमा नेपालको प्रतिनिधित्व गर्दै उहाँले यस्तो धारणा राख्नुभयो । 

    उक्त कार्यक्रममा ५२ देशका सभामुख, उपसभामुख, मन्त्री तथा सांसदसहित ६६ जनाभन्दा बढी कानुन निर्माता सहभागी रहेको बताइएको छ। कार्यक्रममा पराजुलीले “उद्योग, शिक्षा र नयाँ गुणात्मक उत्पादक शक्ति” विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्नुभयो । 

    हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति रहेका पराजुलीले हिमनदी पग्लिनेक्रम, बाढी तथा पहिरोजस्ता जलवायुजन्य विपद्का प्रभाव कुनै एक देशको सीमामा मात्र सीमित नहुने उल्लेख गर्नुभयो । हिमालय संरक्षण, प्रभावकारी विपद् पूर्वसूचना प्रणाली र जलवायु उत्थानशीलताका लागि विश्वव्यापी ऐक्यबद्धता तथा सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

    नेपालको आर्थिक रूपान्तरणका लागि शिक्षा र उद्योगबिचको दूरी अन्त्य गर्दै व्यावहारिक सीप विकास, अनुसन्धान, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिनुपर्नेमा पराजुलीले जोड दिनुभयो। शैक्षिक संस्थालाई उद्योगको आवश्यकतासँग जोडेर युवाका लागि स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो । 

    त्यसैगरी, नेपाली हस्तकला, कृषि उत्पादन तथा जडीबुटीलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके निर्यात प्रवर्द्धन र आर्थिक विकासमा योगदान पुग्ने उहाँको धारणा छ । नेपाल–चीन सहकार्यका सम्भावनाबारे चर्चा गर्दै पराजुलीले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, डिजिटल सीप, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो । चीनको औद्योगिक तथा प्राविधिक अनुभवलाई नेपालको युवा जनशक्ति र उद्यमशीलतासँग जोड्न सके रोजगारी सिर्जना र दिगो आर्थिक विकासको नयाँ अवसर खुल्ने बताउनुभयो । 

    नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्धलाई शिक्षा, प्रविधि, लगानी र युवा जनशक्ति विकासमा केन्द्रित व्यावहारिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै पराजुलीले साझा प्रयासबाट दिगो विकास र पारस्परिक समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो । पराजुलीको सचिवालयका अनुसार उहाँ कार्यक्रम सम्पन्न गरी बिहीबार नेपाल फर्कने कार्यक्रम छ।

    L


    तेस्रो आँखा