• ट्रेण्डिङ्ग :
‘ब्लु बस’ महिलाको सुरक्षाका लागि आवश्यक पहल हो : मन्त्री बादी

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि आवश्यक पहल हो : मन्त्री बादी


  • 586
    SHARES
    • श्रावण २१, २०८३ बिहीबार
    • २ महिना अघि
    • 901 Views

    ‘ब्लु बस’ महिलाको सुरक्षाका लागि आवश्यक पहल हो : मन्त्री बादी

    काठमाडौँ, साउन २१ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला र पुरुषबिच विभाजन सिर्जना गर्ने वा प्रचारमुखी कार्यक्रम नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका सुरक्षा जोखिमलाई तत्काल सम्बोधन गर्ने उद्देश्यसहित अघि सारिएको आवश्यक पहल भएको स्पष्ट पार्नुभएको छ।

    images

    राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाविरुद्ध हुने यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भीडभाड तथा अन्य व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै ‘ब्लु बस’ सेवा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो। उहाँले यस सेवाले विद्यमान सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन नगर्ने र महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्न कुनै प्रकारको प्रतिबन्ध नलगाइने स्पष्ट पार्नुभयो।

    मन्त्री बादीले समानताको अर्थ सबै नागरिकलाई एउटै व्यवहार गर्नु मात्र नभई विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार विशेष संरक्षण, सुविधा र अवसर उपलब्ध गराउनु पनि भएको उल्लेख गर्दै यही संवैधानिक तथा नीतिगत मान्यताअनुरूप ‘ब्लु बस’ सेवा अघि बढाइएको बताउनुभयो।

    उहाँका अनुसार सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुषलाई अलग–अलग यात्रा गराउनु नभई सबै नागरिकले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु हो। त्यसैले महिलाको तत्काल सुरक्षा सुनिश्चित गर्ने लक्षित सेवा र सार्वजनिक यातायात प्रणालीको दीर्घकालीन सुधारलाई समानान्तर रूपमा अघि बढाइनेछ।

    मन्त्री बादीले विशेषगरी गर्भवती महिला, साना बालबालिकासहित यात्रा गर्ने आमा, ज्येष्ठ महिला, अशक्त तथा अपाङ्गता भएका महिलाले भीडभाडयुक्त सार्वजनिक यातायातमा थप कठिनाइ भोग्ने भएकाले उनीहरूको सुरक्षित आवागमन तथा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न ‘ब्लु बस’ सेवा आवश्यक रहेको उल्लेख गर्नुभयो।

    उहाँले ‘ब्लु बस’ सेवाको उद्देश्य महिलालाई सार्वजनिक जीवनबाट अलग गर्नु नभई उनीहरूलाई अझ सुरक्षित, सम्मानजनक र आत्मविश्वासका साथ शिक्षा, तालिम, रोजगारी, स्वास्थ्य सेवा तथा आर्थिक एवं सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउन सक्षम वातावरण निर्माण गर्नु रहेको स्पष्ट पार्नुभयो। साथै, सेवाको प्रभावकारिता, आवश्यकता, सञ्चालन अवस्था तथा दिगोपनाको नियमित समीक्षा गरी प्राप्त नतिजाका आधारमा आवश्यक सुधार तथा निर्णय गरिने जानकारी दिनुभयो।

    मन्त्री बादीले सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, मर्यादित, पहुँचयुक्त र उत्तरदायी बनाउन सरकारले कानुनको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन, चालक तथा सहचालकलाई लैङ्गिक संवेदनशीलतासम्बन्धी प्रशिक्षण, जनचेतना अभिवृद्धि तथा आधुनिक प्रविधिमा आधारित सुरक्षा प्रणालीको विस्तारलाई समानान्तर रूपमा अघि बढाइरहेको बताउनुभयो।

     
     


    तेस्रो आँखा