काठमाडाैं,१९ चैत्र । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको छ । बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार देशभरका बार इकाइहरुमा मतदान भइरहेको हो । दिउसो ४ बजे सम्म हुँने मदानका लागि निर्वाचन स्थलमा मतदाताहरुको लामो लाइन लागेको र धमामध मतदान भइरहेको डेमाेक्रेटीक लयर्स एसोसियसनका केन्द्रीय सदस्य कृतिनाथ शर्मा पौडेलले जानकारी दिए ।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको निर्वाचनको मतदान सकिनासाथ मत गणना गरिने बताइएको छ । निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भइसकेपछि देशभरका मतपेटिकाहरु काठमाडौंमा ल्याइनेछ । त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करिव ३ दिन लाग्ने अनुमान गरिएको पनि प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले बताइन् । काठमाडौंसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट नेपाल बार एशोसिएशनको २६ औं केन्द्रीय कार्य समिति चयनका लागि मतदान भइरहेको हो ।
बारमा अध्यक्षसहित ११ जना पदाधिकारी र सदस्यहरुसहित २५ जनाको कार्य समिति चयन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म हुनेछ । निर्वाचन समितिका अनुसार केही स्थानमा भने मतदान सकिएको छ । नयाँ कार्य समितिको नेतृत्वको लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुनेछ ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्वमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले गरेका छन् ।
