• ट्रेण्डिङ्ग :
भोटेकोशी बाढीः एक हजार ४१० शव फेला

भोटेकोशी बाढीः एक हजार ४१० शव फेला


  • 1.8K
    SHARES
    • आश्विन २, २०८३ शुक्रबार
    • २३ घण्टा अघि
    • 2.7K Views

    भोटेकोशी बाढीः एक हजार ४१० शव फेला

    काठमाडौँ, असोज १ गते । भोटेकोशी बाढीमा परेको एक हजार ४१० जनाको शव फेला परेको छ । यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    images

    प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ छन् । फेला परेका शवमध्ये हालसम्म ११० जनाको सनाखत भएको छ । सनाखत हुन बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायतका प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न २७ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना छन् ।

    बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार ९४४ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ । सङ्कलित डिएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

    बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।

    भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि अझै सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धारकार्यलाई थप तीव्र बनाइएको छ । रासस 

     


    तेस्रो आँखा