काठमाडौं, २० चैत्र । सामाजिक अभियन्ता, मानवाधिकार, घरेलु हिंसा र दलित अधिकारकोबारेमा राष्ट्रिय योगदान र अन्तराष्ट्रिय छवि भएकी डाक्टर बिष्णुमाया परियारलाई सम्मान गरिएको छ । दलित विद्यार्थी युनियन त्रिविले शनिबार सम्मान तथा बधाई कार्यक्रम को आयोजना गरेर परियार नेपाल आएको अवसर पारेर सम्मान गरेको हो ।
विपिन विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा दिपा नेपाललीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । यस्तै, राधिका बोहोराले कार्यक्रमको संचालन गरेकी थिइन् । कार्यक्रममा कर्णाली प्रदेशका सांसद दान सिंह परियार र ‘आत्मसम्मान, मर्यादा, समता अनि सभ्यता सबैको बराबरी’ अभियानकर्मी संजिव कार्कीले परियारलाई सम्मान गरेका थिए ।
काे हुन् परियार
प्रसिद्ध अमेरिकी प्रकाशक म्याकग्रो हिलले डाक्टर लिसा राइट ओफ्नरद्वारा लिखित ‘द राइटर्स माइण्डसेट’ पुस्तकमा डाक्टर विष्णुमाया परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरेको छ । दि राइटर्स माइण्डसेट पुस्तकको ६९२ पृष्ठमा विश्वका चर्चित ५२ जनाको जीवनी समावेश छ, जसमध्ये ५९१(५९४ बीच चार पृष्ठमा डाक्टर विष्णुमायाको जीवनी छ जसलाई विश्वका ११ सयभन्दा बढी स्कुल, कलेज र विश्वविद्यालयमा पढाइन्छ । अमेरिका २७ सेप्टेम्बरलाई बिष्णु माया डे घोषणा गर्छ र भव्य सेलिब्रेट गर्छ ।

नेपाली चेलीलाई सम्मान गरौं, र उहाँबाट प्रेरणा लिऔं, उहाँको बारेमा नेपालका शैक्षिक स्थलमा पनि पढाइ होस् भन्ने अभिप्रायले कार्यक्रमकाे आयोजना गरिएको अनेरास्ववियु नेतृ दीपा नेपालीले जानकारी दिइन् । कार्यक्रममा मीम बहादुर परियार र सांसद परियारले बिष्णु मायाको जीवनी नेपालको शैक्षिक पाठ्यपुस्तकमा राख्नुपर्ने माग गरे । सम्मानित व्यक्तित्व बिष्णु मायाको संघर्ष दुख र सफलताको कहानी सुन्दा कार्यक्रमस्थलमा दुख र हर्षको आँशु छचल्किएको देख्न सकिन्थ्यो । यस्तै, आफ्ना दुख सुनाउँदा बिष्णुमाया परियारसमेत भक्कानिएकी थिइन् । देश विदेशमा योगदान र नाम भएको मान्छे बारे राज्य बेखबर हुनु, राजनीतिक पार्टीहरू स्वयं दलितका सङ्घ संगठन मौन बस्नु दुखद भएको कार्यक्रममा सहभागीले बताएका थिए ।

