काठमाडौं, २० चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपामा सैद्धान्तिक विचलन देखिएको र त्यसलाई सुधार गर्न नमान्दा आफूले बाध्य भएर पार्टी छाड्न परेको बताएका छन् ।
पार्टी जिल्ला कार्यसमिति ललितपुरद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । ‘हामीले राप्रपा फुटाएको होइनौं, जब राप्रपामा सैद्धान्तीक विचलन देखा पर्यो त्यसलाई सुधार गर्नुपर्छ भनेर हामीले पटक पटक माग राख्यौं’, थापाले भने ‘हामीले राखेको मागमा र पार्टीमा देखिएका विचलन हटाउने कुनै संकेत नदेखिएपछि बाध्यताले पार्टी छाड्नु परेको हो ।’
राप्रपा नेपाल सनातन धर्म, संस्कृती, परम्परालाई जगेर्ना गर्दै नेपालको राष्ट्रियतालाई बलियो बनाउनुपर्छ भन्ने एक मात्र पार्टी भएको उनले दाबी गरे । धर्म निरपेक्षताको नाममा सनातन धर्मलाई विस्थापित गरेर हाम्रो धर्मलाई परिवर्तन गर्ने काम भैरहेको भन्दै थापाले यो अवस्थाको सुधार गर्न राप्रपा नेपालले मात्र सक्ने ठोकुवा गरे । राप्रपा नेपाललाई एउटा नयाँ अभियानको रुपमा सुरु गरेको उनको भनाइ छ ।
फरक प्रसंगमा उनले अब राप्रपा नेपालले आर्थिक विकास र समृद्धिलाई सबैभन्दा बढी जोड दिने बताए । ‘राजनीतिक परिवर्तन सँगै आर्थिक परिवर्तन नभई कुनै पनि विकास र परिवर्तन दिगो नहुने हामीले थाहा पायौं’, थापाले भने ‘राजनीतिक परिवर्तन धेरै भयो अब राप्रपा नेपालले आर्थिक विकास र समृद्धिलाई जोड दिन्छ ।’ राप्रपा नेपाल भोलीको परिवर्तनको संवाहक भएको पनि उनले जिकिर गरे ।
सिमित राजनैतिक दलका सिमित नेताले सिण्डीकेट कायम गरेर ब्रम्हालुट गर्ने काम गरेको पनि उनले आरोप लगाए । सनातन धर्म नेपालीहरुकोे पहिचान भएको भन्दै त्यसलाई जोगाउन राप्रपा नेपाललाई साथ दिन उनले आग्रह गरे । भरखर सुरु गरेको पार्टी भएको कारणले तत्काल ठूलो अपेक्षा नराखेको भन्दै आउने निर्वाचनमा सहकार्य गरेर राष्ट्रिय पार्टी बनाउने स्पष्ट पारे ।
