• ट्रेण्डिङ्ग :
स्थानीय निर्वाचन : सुधारिएला राप्रपाको जनमत ?

स्थानीय निर्वाचन : सुधारिएला राप्रपाको जनमत ?


  • 7.0K
    SHARES
    • चैत्र २२, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    स्थानीय निर्वाचन : सुधारिएला राप्रपाको जनमत ?

    दाङ, २२ चैत। नेपाली कांग्रेस सहितका ५ राजनीतिक दलहरुको गठबन्धन पक्कापक्की जस्तै भएपछि चुनावमा गठबन्धनमै आवद्ध दलहरुको मत ‘साटफेर’ हुनेमा आशंका गरिएका छन्। गठबन्धनका नाममा चुनावमा एकले अर्को दलको अस्वित्वलाई कति सम्म स्वीकार्ने ? भन्ने बहस अहिले तल्लो तह सम्मै बनिरहेको छ। गठबन्धनकाबीचमा मत साटफेर फितलो भए त्यसको फाइदा राप्रपालाई हुने पनि आशंका गरिएकै छन्। मुलतः कांग्रेस समर्थक मतदाताहरुले माओवादीलाई या गठबन्धनमा आवद्ध दलहरुलाई मत नदिएर राप्रपालाई मतदान गर्न सक्ने विश्लेषण हुने गरेको छ।

    images

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि गठबन्धन नरुचाएका मतदाताहरुको मत राप्रपालाई स्वाभाविकै आउने देखेका छन्। ‘गठबन्धन नरुचाउने चाहे माओवादी, या कांग्रेस या गठबन्धनमा रहेका अन्य दलका कार्यकर्ता/मतदाताहरुको मत राप्रपामा आउने कुरालाई नकार्न सकिन्न,’ लिङ्देनले तेस्रो आँखासँग भने ‘र यो स्वाभाविकै पनि हुन्छ किनकी लामो समय सम्म सत्ताको नेतृत्व गरेका दलहरुले नेपाली नागरिकका लागि खेलेको भूमिकाको मुल्यांकन अहिले राम्रोसंग हुन्छ नै, यसर्थ बैकल्पीक शक्तिको खोजी मतदाताहरुले गर्नेमा कुनै शंका छैन।’ उनले गठबन्धनमा आवद्ध मात्रै नभई सबै दलहरुलाई यसअघी मतदान गरेका मतदाताहरुकै सहयोगबाट राप्रपाको स्थितिमा सुधार आउने बताए। यसर्थ पनि उनलाई राप्रपाको स्थिती बलियो बनाउनका लागि अन्य दलकै कार्यकर्ताहरुको रोजाईमा राप्रपा बन्ने दृढ विश्वास छ। ‘राप्रपाको स्थित सुधार आउने भनेको त नेपालकै सबै राजनीतिक दलमा आवद्ध मतदाताहरुको मतदानबाटै हो ,’ उनले भने।

    त्यसोत, राप्रपाको नेतृत्व राजेन्द्र लिङ्देनले गरेपछि र उनको राजनीतिक सकृयताले पनि राप्रपाको स्थिती पहिलेको भन्दा केहि सुधार हुने आकलन गरिएका छन्। ‘लामो समय देखि नेतृत्व गरिरहेका दलहरुको विकल्पका रुपमा राप्रपालाई आमनागरिकले देखेका छन्,’ उनले भने ‘यसर्थ पहिलेको तुलनामा राम्रो स्थिती सुधार आउनेमा दुईमतै छैन।’

    अन्य दलहरुको विकल्पका रुपमा राप्रपालाई मतदाताहरुले चयन गर्नेमा राप्रपाका अध्यक्ष लिङ्देन विश्वस्त देखिएपनि आगामी निर्वाचनमा जीतका लागि उनको पार्टी राप्रपालाई सहज पनि छैन। गत स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने पनि राप्रपाको स्थिती सुधारमा त्यती सहज सम्भावना देखिन्न।

    घोराही उपमहानगरपालिकामा मेयरका लागि गत स्थानीय तहको निर्वाचनमा राप्रपा चौथो पार्टी बन्यो। ११३६ मत प्राप्त गर्दै राप्रपा चौथो दल बन्दा पहिलो दल बनेको एमाले भन्दा २० हजार ८ सय ९४ मतले पछि पर्यो। २२०३० मत प्राप्त गर्दै एमाले मेयरमा विजयी बन्यो। यसैगरि दोस्रो दल बनेको कांग्रेसले राप्रपा भन्दा १६ हजार ३ सय ४८ मत प्राप्त गर्यो भने तेस्रो दल बनेको माओवादी केन्द्रले १० हजार ९ सय ४६ मत बढि प्राप्त गरेको थियो। निर्वाचनमा चौथो दल बनेपछि यो उपमहानगरमा प्रमुख दलहरुसँगको ठूलो मतान्तरलाई यो निर्वाचनमा पुरा गरेर जीत निकाल्न राप्रपालाई ठूलो चुनौती रहने देखिन्छ ।

    यसैगरि तुलसीपुर उपमहानगरपालिकामा पनि राप्रपा चौथो स्थानमै रह्यो। मेयरका लागि जम्मा ४ सय ९५ मत प्राप्त गरेर चौथो स्थानमा रहेको राप्रपा भन्दा पहिलो हुने दल एमालेको मत २२ हजार ३ सय ६२ थियो। एमालेले यो उपमहानगरको मेयरमा २२ हजार ८ सय ५७ मत प्राप्त गरेको थियो । यसैगरि दोस्रो बनेको दल नेपाली कांग्रेसले यो उपमहानगरमा राप्रपाको भन्दा १८ हजार ४ सय ८ मत बढि प्राप्त गरेको थियो । यस्तै तेस्रो बनेको माओवादी केन्द्रले यो उपमहानगरमा राप्रपा भन्दा ८ हजार १ सय ९८ मत बढि पाएको थियो। झिनो मत प्राप्त गर्दै यो उपमहानगरमा चौथो दल बनेको राप्रपाले आफ्नो जीत निकाल्नका लागि प्रमुख दलहरुसँगको त्यो बेलाको भारी मतान्तर हटाउन त्यती सहज हुने देखिन्न।

    जिल्लाका यी दुई उपमहानगर मात्रै हैन, जिल्लाका १० वटै स्थानीय तहमा राप्रपाले अघिल्लो स्थानीय तहमा प्राप्त गरेको मतलाई मुल्यांकन गर्दा दाङमा राप्रपाको स्थितिमा उल्लेख्य सुधार आउने सम्भावना देखिन्न। जिल्लाको लमही नगरपालिकामा पनि राप्रपा झिनो मतका साथ चौथो स्थानमा रह्यो। बिजेता दल एमालेको ५ हजार १ सय ५२, दोस्रो दल कांग्रेसको ५ हजार ६९ र तेस्रो बनेको दल माओवादी केन्द्रको ४ हजार ८१ मत आउँदा चौथो शक्ति बनेको राप्रपाले जम्मा ५ सय ८५ मत मात्रै प्राप्त गरेको थियो। यसैगरि अघिल्ल्लो निर्वाचनको मतलाई हेर्ने हो भने शान्तिनगर गाउँपालिकामा पनि राप्रपाले आफ्नो स्थिति सुधार गर्न सहज देखिन्न। निर्वाचित दल कांग्रेसले ३ हजार ८ सय ५२, दोस्रो दल एमालेले २ हजार ९ सय २४ र तेस्रो बनेको माओवादी केन्द्रले २ हजार ८ सय ३७ मत प्राप्त गर्दा चौथो दल बनेको राप्रपाले जम्मा १ सय २ मत मात्रै प्राप्त गरेको थियो।

    यस्तै गढवा गाउँपालिकामा जम्मा चौथो स्थानमा देखिएको राप्रपाले जम्मा ५१ मत प्राप्त गर्दा पहिलो बनेको एमालेले ३ हजार ६ सय ७७,दोस्रो दल माओवादीले ३ हजार ३ सय ४ र तेस्रो बनेको कांग्रेसले ३ हजार २१ म्त प्राप्त गरेका थिए। दंगीशरण गाउँपालिकामा निर्वाचित एमालेले २ हजार ८ सय ४१ मत प्राप्त गर्दा यहाँ पनि चौथो बनेको राप्रपाले जम्मा १ सय ६६ मत मात्रै प्राप्त गर्यो। दोस्रो बनेको कांग्रेसले २ हजार ८ सय ४१ र तेस्रो बनेको माओवादीले २ हजार ४ सय ८५ मत प्राप्त गरेको थियो। 
    बंगलाचुली गाउँपालिकामा पनि राप्रपा चौथो दलकै रुपमा रह्यो। तर मत भने जम्मा ८७ मात्रै प्राप्त गर्यो। जबकी पहिलो हुने दल माओवादी केन्द्रले ३ हजार ३ सय ५२,दोस्रो दल का.ग्रेसले २ हजार ५ सय १४ र तेस्रो बनेको एमालेले १ हजार ६ सय ३४ मत प्राप्त गरेका थिए।

    एमालेले ४ हजार २ सय ७१ मत प्राप्त गर्दै बाजी मारेको बबई गाउँपालिकामा राप्रपा जम्मा १ सय १८ मत प्राप्त गर्दै चौथो दल बन्यो । दोस्रोमा रहेको कांग्रेसले ३ हजार ९ सय ५९ र तेस्रो दल बनेको माओवादीले २ हजार ५ सय ४३ मत प्राप्त गर्यो । यस्तै २ हजार ३ सय ९५ मत प्राप्त गर्दै कांग्रेसले जीत हात पारेको राजपुर गाउँपालिकामा राप्रपाको मत जम्मा १ सय  आयो र चौथो बन्यो । चौथो दल राप्रपा बन्दा दोस्रो र तेस्रो बनेका दलहरुसंगको मतान्तर पनि धेरै रह्यो । दोस्रो दल बनेको माओवादी केन्द्रले १ हजार ८ सय ५८ मत प्राप्त गर्यो भने तेस्रो दल एमालेले १ हजार ७ सय ८९ मत प्राप्त गर्यो ।

    यस्तै अन्य स्थानीय तहमा भन्दा राप्ती गाउँपालिकामा ७  सय ८७ मत प्राप्त गर्दै राप्रपा चौथो दल बन्दा पहिलो दल बनेको कांग्रेसले ४ हजार ७ सय ९७, दोस्रो दल बनेको माओवादी केन्द्रले ३ हजार ९ सय ४२ र तेस्रो दल बनेको ३ हजार ५ सय ५७ मत प्राप्त गरेका थिए ।

    गत निर्वाचनमा प्रमुख दलहरु भन्दा ठूलो मतान्तरले पछाडी परेको राप्रपाले आफ्नो स्थिती सुधारको आधार अन्य दलहरु प्रतिको मतदाताको वितृष्णालाई मानेको छ। यसैगरि गत निर्वाचनको मतान्तरलाई हटाउनका लागि उसले विगतका आफ्ना कमजोरी हटाउनुलाई पनि अर्को आधार देखेको छ। ‘हिजोका दिनमा हामीहरुमा पनि धेरै कमी कमजोरी भए,’ अध्यक्ष लिङ्देनले भने ‘विगतका ती कमी कमजोरीहरुलाई हटाएर राप्रपालाई आममतदाता समक्ष बैकल्पीक राजनीतिक शक्तिका रुपमा उभ्याउँछौँ ।’
    आफूलाई पहिलेको भन्दा स्थिति सुधार गर्ने योजना बनाएको राप्रपाले अहिले चुनावी अभियानलाई तीव्रता दिइरहेको छ। स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै राप्रपाले अहिले तल्लो स्तरमै भेला आयोजना गरिरहेको छ। साथै उम्मेदवार चयनको कामलाई समेत प्राथमिकतामा राखिएको अध्यक्ष लिङ्देनले जानकारी दिए। 


    तेस्रो आँखा