काठमाडाैं,२२ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि तयार गरिएको आचार संहिता अस्वीकार गरेको छ । निर्वाचन आयोगले जारी गर्ने भनिएको आचारसंहितामा हस्ताक्षर गर्न दललाई बोलाएको थियो । आयोगले जारी गर्न लागेको आचारसंहितासम्बन्धी प्रतिवद्धता पत्रलाई लिएर साना दलहरुले विरोध गरेको भन्दै एमालेले हस्ताक्षर गर्न नमानेको हो।
आयोगले आचारसिंहताबारेमा राजनीतिक दलहरूबाट प्राप्त सुझाव समेटी राजपत्रमा प्रकाशित गर्नका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षरका लागि दलहरूलाई मंगलबार बोलाएको थियो। आचारसंहिता आयोगले राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरूलाई हस्ताक्षर गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए।
पौडेलले सबै दललाई हस्ताक्षर गराउन बोलाइएको बताए। तर नेपाल मजदुर किसान पार्टीसहितले आफूहरुसँग छलफल नगरी जारी गर्न लागिएको आचारसंहिता अस्वीकार्य हुने भन्दै आयोगको बैठक हलमै नाराबाजी गरेका थिए। बैठकमा साना दलको पनि आपत्ति रहेको भन्दै एमालेले आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर नगरेको आयोगले जनाएको छ । साना दलहरूका नाममा एमालेले निवार्चन आचार संहिता पालनामा अवराेध गरेकाे आयाेगकाे ठहर छ ।
