काठमाडौं, २३ चैत्र। भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँमा बुधबार जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
सूचना प्राप्त हुनासाथ परिसर भक्तपुरबाट प्रहरी अधिकृतको कमान्डमा खटिएको टोलीले कौडा खेल्ने १३ जनालाई आठ लाख २२ हजार ६० र १६ थान कौडासहित नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।
