• ट्रेण्डिङ्ग :
गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ - अध्यक्ष दाहाल

गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ - अध्यक्ष दाहाल


  • 6.7K
    SHARES
    • चैत्र २३, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ - अध्यक्ष दाहाल

    काठमाडौं, २३ चैत्र। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भैसकेको बताएका छन्। भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताए। 

    images

    दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न क्रियाशील रहेको बताए । उनले भने 'सबै आ–आफ्नो ठाउँबाट लचिलो भई त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन।'

    वर्षौदेखि आफ्नो पार्टीले भूमिहीन समुदायलाई भूमिपति बनाउने संघर्षको सार्थकरूपको सुरूआत आज चितवनको भरतपुरबाट सुरू भएको उनको भनाइ छ। विसं २०३६ सालमा भूमिहीनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूआत गरेको भन्दै भूमि प्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहीनहरूलाई भूमिपति बनाउन सरकार र भूमि आयोगका पदाधिकारीलाई आग्रह गरे। 

    कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भूमिहीनहरूलाई भूमिपति बनाउने अभियानको सुरूआत भरतपुरबाट सुरु भएको भन्दै आफूले पाँच वर्ष अगाडि निर्वाचनका बेला गरेको बाचा पूरा गर्ने प्रक्रियाको सुरुआत भएको बताए । उनले भने 'भरतपुर महानगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १० हजार ७७७ जनालाई पुर्जा दिएरै छाड्छौँ ।'

    सो अवसरमा भरतपुर महानगरपालिका–२ आँपटारी देवकोटा चोकका भूमिहीन दलितहरूलाई पहिलो चरणमा ४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो। सोही क्षेत्रमा ६९७ जना भूमिहीन छन्। तीमध्ये दलितले पहिलो चरणमा पुर्जा प्राप्त गरेका हुन् एक परिवारले १३० वर्गमिटर नबढाई भोगचलन गर्दै आएको जग्गा दिइएको हो।


    तेस्रो आँखा