• ट्रेण्डिङ्ग :
चुनावी तालमेल : दाङका दुई उपमहानगरमा सकस

चुनावी तालमेल : दाङका दुई उपमहानगरमा सकस


  • 12.1K
    SHARES
    • चैत्र २७, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 18.6K Views

    चुनावी तालमेल : दाङका दुई उपमहानगरमा सकस

    दाङ, २७ चैत्र । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभापति अमरसिंह पुनको अडान छ ‘गत स्थानीय तहको निर्वाचनमा प्राप्त जनमत नै चुनावी तालमेलको पहिलो आधार हो ।’ यसर्थ प्रदेशका १२ वटै जिल्लाका स्थानीय तहहरुमा गत निर्वाचनमा प्राप्त जनमतको आँकडा कांग्रेसले मूल्यांकन गर्ने र सोही आधारमा तालमेल हुने उनको भनाइ छ।

    images

    यसअघी गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेल गर्न नहुने खडान राख्दै आएका पुन कांग्रेसको केन्द्रीय समितिले चुनावी तालमेल गरेर जाने निर्णय गरेपछि गठबन्धनको पक्षमा सहमत त देखिएका छन्, तर गत निर्वाचनको जनमतलाई चुनावी तालमेलको पहिलो आधार बनाईनु पर्ने सर्तमा अडिग छन् ।

    उनी जस्तै आम कांग्रेसीहरुले पनि चुनावी तालमेलको पहिलो आधारका रुपमा गत स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई पहिलो आधार बनाईनु पर्नेमा जोड दिईरहेका छन्। कांग्रेसीहरुको बुझाई छ ‘अन्यथा चुनावी तालमेलको कुनै अर्थ रहने छैन।’ गत निर्वाचनको जनमतलाई आधार मान्ने हो भने यसअघी एमालेले जित निकालेका दुबै प्रमुख स्थानीय तह (उपमहानगर) हरुमा नेपाली कांग्रेसले नै प्रमुखको उम्मेदवारी पाउने अवस्था सहजै आउँछ। तर माओवादीले पनि दुई मध्य एक उपमहानगरमा आफ्नो नेतृत्व दाबी गरिरहेका कारण तालमेलमा सकस रहने देखिन्छ।

    गत स्थानीय तहको निर्वाचनमा घोराही उपमहानरपालिकाको प्रमुखमा एमालेका नरुलाल चौधरीले २२ हजार ३० मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका भुपबहादुर डाँगी १७ हजार ४ सय ८४ मत प्राप्त गर्दै दोस्रो बनेका थिए। माओवादीका जीवन गौतम तेस्रो बनेका थिए। उनले १२ हजार ८२ मत मात्रै प्राप्त गरेका थिए। गत निर्वाचनको जनमतलाई हेर्ने हो भने माओवादी भन्दा कांग्रेस ५ हजार मतले माथि छ। यसर्थ यो जनमतलाई आधार मानेर घोराही उपमहानगरपालिकामा कांग्रेसले गठबन्धनका तर्फबाट प्रमुखको दाबेदारी प्रस्तुत गरिरहेको छ ।

    ‘गएको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार बनाएर अघि बढ्ने भन्ने गठबन्धनको बैठकमा पनि छलफल भएको हो,’ कांग्रेसका एक जिल्ला नेताले भने ‘यसर्थ घोराही उपमहानगरपालिकाको मेयरका लागि गत स्थानीय तहको जनमतले कांग्रेसका लागि बाटो खुल्ला गरिदिएको छ।’

    इसैगरि तुलसीपुर उपमहानगरपालिकामा पनि कांग्रेसको दाबी प्रमुखमै छ। यो दाबीको पहिलो आधार पनि गत सथानीय तहको निर्वाचनमा प्राप्त जनमतलाई नै मानिएको छ। अघिल्लो स्थानीय तहको निर्जाचनमा यो उपमहानगरपालिकामा पनि एमालेले जितेको थियो। एमाले २२ हजार ८ सय ५७ मत ल्याउँदै निर्वाचित हुँदा कांग्रेस १८ हजार ९ सय ३ मतका साथ दोस्रो स्थानमा रह्यो। अनि नेकपा माओवादी केन्द्र कांग्रेस भन्दा १० हजार कम अर्थात ८ हजार ६ सय ९३ मतका साथ तेस्रो स्थानमा रह्यो। अघिल्लो स्थानीय तहको निर्वाचनमा आफू भन्दा १० हजार कम मत प्राप्त गरेको माओवादीलाई तालमेलकै नाममा प्रमुख पद नछोड्ने निचोडमा कांग्रेस पुगिसकेको छ।

    जिल्लाका १० स्थानीय तह मध्य माओवादी भन्दा बढि मत प्राप्त गरेका दुई उपमहानगरपालिकामा आफ्नो नेतृत्व कदापी नछोड्ने मनस्थितीमा छ । ‘गएको निर्वाचनमा धेरै कम मत ल्याउने दललाई नेतृत्व छोड्नु पर्ने अवस्था आउँछ भने त्यो कस्तो तालमेल हो ?’ कांग्रेसका एक नेताले भने ‘यो त तालमेलका नाममा अरु दललाई उकास्ने नियत भैहाल्यो नि।’

    तर गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले भने दुई उपमहानगर मध्य एक उपमहानगरमा आफ्नो नेतृत्व रहनु पर्ने दाबी गरिरहेको छ। आफू गठबन्धनको दोस्रो ठूलो दल भएका कारण स्वाभाविकै रुपमा एउटा उपमहानगरमा आफ्नो नेतृत्व हुनुपर्ने निष्कर्षमा माओवादी पुगेको  छ। ‘जिल्लाका दुई उपमहानरपालिका मध्य एउटा उपमहानगरमा हाम्रो नेतृत्व रहनु पर्छ भन्नेमा हाम्रो निर्णय भएको छ,’ नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक सुबास पुनले भने ‘माओवादी गठबन्धनको दोस्रो दल भएकाले पनि एउटा उपमहानगरको नेतृत्वमा हाम्रो दाबी रहनु स्वाभाविक हो।’

    जिल्ला स्तरबाट एउटा उपमहानगरमा आफ्नो दाबी गरिरहेको भएपनि महानगर र उपमहानगरको भागबण्डा केन्द्रले नै मिलाउने भएकाले के हुने भन्नेमा भने अन्यौल नै रहेको उनको भनाई छ। ‘जिल्लाका साथीहरुले एउटा उपमहानगरमा हाम्रो नेतृत्व रहनु पर्छ भन्नु भएको छ,’ पुनले भने ‘तर महानगर र उपमहनगरको भागवण्डा केन्द्रले नै टुंग्याउने भएकाले अहिले के हुने भन्ने निक्र्यौल त भैसकेको छैन ।’

    पुनले भने अनुसार माओवादीको केन्द्रीय कमिटिले निर्णय गरेको खण्डमा दाङका दुई उपमहानगर मध्य घोराही उपमहानगरमा आफ्नो दाबी गर्ने देखिन्छ। यो उपमहानगर माओवादी प्रवक्ता कृष्णबहादुर महराको चुनावी क्षेत्र हो। यसर्थ महराले आफ्नो चुनावी क्षेत्रको उपमहानगरमा आफ्नो पार्टीको नेतृत्व दाबी गर्ने सम्भावना अधिक देखिएको छ। स्रोतका अनुसार महराले घोराही उपमहानगरमा आफुहरुको दाबी रहने भन्दै लबिङ समेत गरिरहेका छन्।

    उता तुलसीपुर उपमहानगरपालिका भने कांग्रेस केन्द्रीय सदस्यद्धय दीपक गिरी र गेहेन्द्र गिरीको चुनावी क्षेत्र हो। यसर्थ गिरीद्धयले आफ्नो चुनावी क्षेत्रमा रहेको उपमहानगरको नेतृत्व माओवादीलाई दिन मान्ने छैनन्। त्यो क्षेत्रमा माओवादीका हेभिवेट नेताहरु नरहेका कारण पनि तुलसीपुर उपमहानगरको नेतृत्व कांग्रेसलाई छोडिदिने र घोराही उपमहानगरको नेतृत्व आफूले लिने दाउमा माओवादी देखिन्छ । घोराही उपमहानगरको नेतृत्व लिएको खण्डमा यो उपमहानगरमा कांग्रेसीहरुलले तालमेललाई कति कार्यान्वयन गर्छन् भन्ने प्रश्न पनि उब्जिएको छ।

    तत्कालीन संविधानसभा सदस्य राजु खनाल र कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतक अनिता देवकोटाको क्षेत्र पनि यही घोराही उपमहानगर नै हो। ‘दुई वटै उपमहानगरको नेतृत्व पनि दिने, अनि घोराही उपमहानगर रहेको चुनावी क्षेत्र पनि माओवादी नेता कृष्णबहादुर महरालाई छोडिदिने हो भने त कांग्रेसको अस्तित्व कहाँ रहन्छ ?’ कांग्रेस नेताहरु भन्छन् ‘यो त तालमेलका नाममा कांग्रेस आफू सकिएर माओवादीलाई माथि उठाएको जस्तो भैहाल्यो नि।’ 

    स्वाभाविकै रुपमा प्रतिनिधिसभा निर्वाचनमा पनि तालमेल हुने परिस्थती बनेमा माओवादीका नेता महरा यही चुनाव क्षेत्रबाटै उम्मेदवार बन्नेमा आशंका रहन्न। माओवादीका हेभिवेट नेता महराको चुनावी क्षेत्र यही नै रहेकाले दोस्रो तहका नेता उनले चाहेकै स्थानमा चुनाव लड्न सक्ने सामथ्र्य माओवादीभित्र राख्न सक्छन्। फलतः अहिले उपमहानगरको नेतृत्व पनि माओवादीलाई दिने र प्रतिनिधिसभा निर्वाचनमा पनि माओवादीलाई छोडिदिने परिस्थती बन्न सक्ने सम्भावना देखि कांग्रेसीहरु तर्सिएका छन्।


    तेस्रो आँखा