काठमाडौं, २७ चैत्र । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले हाल अर्थमन्त्री जनार्दन शर्माले जेल हाल्नु पर्ने किसिमका गतिविधि गरेको बताएका छन् । आइतबार नेकपा एमाले केन्द्रीय प्रचार विभाग कमिटिद्वारा मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा भन्ने विषयक पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।
‘कुनै विदेशी मुलुकबाट पैसा आएको र विदेशी मुलुकले अनुसन्धान गर्नु भनेको विषयमा अर्थमन्त्रीले पत्र लेखेर होइन गर्नु पर्दैन भनेका खबर आएको छ’, पोण्डेले भने ‘यो अर्थमन्त्रालयको काम होइन । यदि साच्चिकै एजेन्सीहरु बलियो भएका भए उनलाई अहिले जेलमा हालिन्थ्यो ।’ उनले सम्झौता र ऐन भन्दा बाहिर गएर कार्य गर्न सकिन्छ ? सरकार कानून भन्दा माथि हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।
यस्तो समयमा गभर्नरलाई हटाएर अर्थ मन्त्रालयले राम्रो संकेत नदेखाएको उनको भनाइ छ । हालको अर्थ अवस्थालाई मनन गरेर सरकारले आग्रह पूर्वाग्रह बाट माथि उठेर यो अवस्थालाई सुधार गर्न सबैसँग हातेमालो गर्न जरुरी रहेको उनको दाबी छ । तर अहिलेको आर्थिक अवस्थालाई लिएर सरकार गम्भीर नभएको उनले आरोप लगाए । श्रीलंकाका अर्थमन्त्रीले भागे जस्तो नेपालका अर्थमन्त्रीले भाग्न पर्ने अवस्था नआओस भन्ने आफूले चाहेको उनको भनाइ छ ।
