काठमाडौं, २८ चैत्र । विवेकशील साझा पार्टीले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौ महानगरपालिको मेयर र उपमेयरको उमेदवार घोषणा गरेको छ ।
विवेशील साझाले आज विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरको मेयर, उपमेयर का लागि दुई महिला क्रमश: समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको जनाएको हो ।
'देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँस राजधानीको गौरव पुनर्स्थापित गरौँ' नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय आज बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, समिक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन्। उनी गएको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।
यस्तै, अर्की उम्मेदवार कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ/संगठनको नेतृत्वदायी भूमिकामा छिन्।
दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछन्।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पछिल्ला दशकहरूमा काठमाडौ क्रमिक रूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुई जना 'इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने विश्वास व्यक्त गरेका छन्।
बास्कोटा र तुलाधरको चुनावी अभियानको नेतृत्व पार्टीकी अर्की केन्द्रीय सदस्य तथा गत संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं ७ बाट सम्मानजनक मतका साथ तेस्रो स्थान हासिल गरेकी अनुपा श्रेष्ठले गर्नेछिन्।
विवेकशील साझा पार्टीले महानगरवासीलाई यस पटक 'एक मौका' आग्रह समेत गरेकाे छ ।
