काठमाडौं, २८ चैत्र । अस्ट्रेलियन क्रिकेटर शेन वार्नको स्मृतिमा आयोजिन नेपाल प्रो क्लब ट्वान्टी २० च्याम्पियनसिपमा युपी ११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई सात विकेटले पराजित गरेको छ ।
रुपन्देहीको सिदार्थनगरमा सम्पन्न खेलमा एपिएफले दिएको ७६ रनको लक्ष्य युपी ११ ले १३.२ ओभमार तीन विकेट गुमाएर पूरा गर्यो । युपी ११ का राज यादवले २९, विवेक सिंह र राहुल कुमारले १६ रन बनाए । एपिएफका नन्दन यादव र अमर रौटेलाले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा आएको एपिएफले १७.१ ओभरमा सबै विकेट गुमाउनुअघि ७६ रनको योगफल खडा गरेको थियो । एपिएफका अमर रौटेलाले २१ रन बनाउदा सुमित महर्जनले १६ र पुरन विकले १२ रन बनाएका थिए ।
एपिएफलाई सस्तैमा समेट्न युपीका प्रिन्स शाहीले सर्वाधिक चार विकेट लिए । यसबाहेक, विपिन चन्द्राले दुई विकेट लिँदा सन्दीप मित्तल, दिव्य सिंह र नितिन रामले समान एक विकेट लिए ।
