काठमाडौं, ९ वैशाख । हेटौंडा-९ मा निर्माणाधीन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ । बिहीवार राति अज्ञात व्यक्तिहरुले पार्कमा रहेका शालिक तोडफोड गरेका हुन् ।
आज (शुक्रबार) बिहान पार्कमा मर्निङ वाक गर्न गएका स्थानीयले शालिक फुटाएको अवस्थामा देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । समितिले प्रहरीलाई जानकारी गराएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
पार्कमा अन्य कुनै संरचनालाई क्षति नगरी मात्र मदन-आश्रितको मात्र शालिक तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको बताइएकाे छ । जीवराज आश्रितको शालिक पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाँचेर करिब ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ ।
