काठमाडाैं,१३ वैशाख । स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरुकोसंख्या एक लाख ४१ हजार पुगेको छ । वैशाख ११ र १२ गते साँझ ५ बजे सम्म मनोनयन दर्ता गरेका उम्मेदवारहरुको तथ्यांक स्थानीय तहहरुबाट आएरहेकाले अझै बढ्न सक्ने निर्वाचन आयोग नेपालले जनाएको छ ।
आयोगले बिहान १०ः३० बजे अध्यावधिक विवरण अनुसार मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको जानकारी दिएको हो । महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जनाको र उपाध्यक्षमा २३४३ जनाको उम्मेदवारी परेको छ ।
वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।
