काठमाडाैं,१५ वैशाख । देशभरका निर्वाचन अधिकृतले आज दिउँसोसम्म समानुपातिकतर्फ बन्दसूचीमा रहेकाहरुको नाम नहटेमा उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएका छन् । निर्वाचन आयोगले बिहीबार अपरान्हसम्म बन्दसूचीबाट नाम हटेमा मनोनयन स्वीकार गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।
त्यसैगरी विभिन्न कारणले कालोसूचीमा परेका ४० हजारमध्ये कोहीले मनोनयनपत्र दर्ता गरेको भए त्यो समेत रद्द हुनेछ । निर्वाचन कानूनमा उम्मेदवारी दिने योग्यता नपुग्ने विषयलाई आधार बनाएर कालोसूची तयार गरिएको हो । अदालतबाट पाएको सजाय भुक्तान नभएका, बैंकको ऋण नतिरेकाहरु कलोसूचीमा पर्ने छन् ।
आयोगले दलहरुको समानुपातिक बन्दसूचीमा रहेकालाई कालोसूची भनेको छैन, बरु उनीहरुको नाम नै स्वीकार नहुने गरी सफ्टवेयर तयार पारेको छ । मनोनयनपत्र दर्ता गर्नुअघि मात्रै समानुपातिकको बन्दसूचीबाट नाम हटेमा मान्यता दिने निर्णय गरेको निर्वाचन आयोगले अब भने दावीविरोधमाथि छानविन गर्ने अन्तिम दिनसम्म त्यसलाई खुला राख्ने निर्णय गरेको छ ।अनि दलहरुले मनोनयनपछि समेत बन्दसूचीबाट नाम हटाउन निर्णय गरेर आयोगमा पत्र पठाइरहेका छन् ।
