काठमाडाैं,२१ वैशाख । स्थानीय तहको निर्वाचनमा गठबनधन गरेका सत्ता घटक दलका शीर्ष नेताहरुले भनेजस्तै परिणाम आउने बताएका छन् । गठबन्धन दलहरुबीच भनेजस्तो तालमेल नभए पनि परिणाम सफलतातिर जाने विश्लेषण नेताहरुले गरेका हुन । तालमेलका लागि गरिएको सैद्धान्तिक सहमति, केन्द्रदेखि जिल्लासम्म भएको टिकट बाँडफाँटकाबीच पनि करिब तीन दर्जन स्थानीय तहमा बागीको समस्या कायमै रहे पनि परिणाम सोचेजस्तो आउने दाबी गरेका छन् ।
गठबन्धनका मत साझा उम्मेदवारलाई पार्ने वातावरण बनाउनुलाई शीर्ष नेताले आगामी चुनौतिका रुपमा हेरेका छन् । निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेलले धेरै ठाउँमा गठबन्धन भएको भएपनि अझै केही ठाउँमा मिलाउन नसकेको बताए । ‘सबैको आकांक्षा बढेको छ, त्यसकारण आफै भित्र मिलाउन गार्हो भएपनि धेरै ठाउँमा नेता कार्यकर्ताहरुबीच कुरा मिलिसकेको बताएका छन् ।
पाँच दल मिलाउँदा त धेरै मुस्किल भइराखेको छ, यति हुँदा हुँदै पनि धेरै ठाउँमा मिलेको छ, केहीमा अझै अफ्ट्यारो छ,’ कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘तर पनि समग्रमा गठबन्धन राम्रो बनेको छ । अन्तिमसम्म गठबन्धनका सबै मत साझा उमेद्वारलाई पार्न पहल हुन्छ र गठबन्धनका मान्छेहरुले नै जितेर आउँछन् ।’
चुनौतिको सामना गर्न सबैले इमान्दारीताको नैतिकता प्रर्दशन गर्नुपर्ने पनि शीर्ष नेताहरुको बुझाई छ । ‘हामीले लिएको ठाउँमा सबै सफल भएको छ । किनभने हामीले मेयर र उपमेयरमा मात्रै गठबन्धन गरेका थियौं । वडाहरुमा गठबन्धन गर्दापनि हुन्छ, भएन भने मित्रवत् प्रतिस्पर्धा गरेपनि हुन्छ भनेर तल छोडिदिएका थियौं । त्यसमानेमा अहिलेसम्म गठबन्धन सफल छ,’ जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘अव मूल सफलता चुनावको नतिजाले देखाउने हो । नतिजा निकाल्न जसपाको प्रयास रहन्छ ।’
आइतबार बसेको कांग्रेस नेता पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले विभिन्न ठाउँमा देखिएका चुनौति चिर्न गर्न समझदारी अनुरुप काम गर्न आ–आफ्नो दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने पनि बैठकको निर्णय छ ।
