• ट्रेण्डिङ्ग :
चितवनका मतदाताको संख्या भन्दा ९ दशमलब १३ प्रतिशत बढी मतपत्र पठाइयाे

चितवनका मतदाताको संख्या भन्दा ९ दशमलब १३ प्रतिशत बढी मतपत्र पठाइयाे


  • 8.1K
    SHARES
    • बैशाख २४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    चितवनका मतदाताको संख्या भन्दा ९ दशमलब १३ प्रतिशत  बढी मतपत्र पठाइयाे

    काठमाडाैं,२४ वैशाख । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ । शुक्रबार भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जानकारी दिएको छ । भरतपुरको लागि ४१० बण्डल र भरतपुरबाहेक ६ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो ।

    images

    एउटा बण्डलमा ५०० वटा मतपत्र छन् । निर्वाचन आयोगले चितवनका मतदाताको संख्या भन्दा ९ दशमलब १३ प्रतिशत अर्थात ३६ हजार ३१५ बढी मतपत्र पठाएको हो । जिल्लामा मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेको छ । आयोगले आफ्नो नीति अनुसार नै मतदाताको संख्या भन्दा केहि बढी मतपत्र पठाएको चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए । ‘आयोगकै नीति अनुसार चितवनमा पनि केहि बढी मतपत्र आइपुगेको छ’, उनले भने ।

    प्याकिङ भएर आएको मतपत्रको बण्डलभित्र प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने भएकाले आयोगले करिब १० प्रतिशत बढी मतपत्र पठाउने गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । ‘बण्डलमा मसी लत्पतिएका, प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने आयोगले विगतमा जस्तै करिब १० प्रतिशत बढी मतपत्र पठाएको हो’, उनले भने । भरतपुर महानगरपालिकाको लागि दुई लाख पाँच हजार मतपत्र आएको छ । भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता छन् ।

    महानगरबाहेक ६ पालिकाको लागि दुई लाख २९ हजार मतपत्र आइपुगेको छ । छ पालिकामा दुई लाख ११ हजार ९३३ मतदाता छन् ।  भरतपुरको लागि बनाइएको मतपत्रमा दल र स्वतन्त्रका गरी ३६ प्रकारका चुनाव चिह्न छन् । तर उमेदवार भने ३५ प्रकारका चुनाव चिह्न पाएका मात्रै छन् । ३६ औँ नम्बरको लाइनमा राखिएको चुनाव चिह्न कुनै पनि उमेदवारको होइन । आयोगले मतपत्रको आकार मिलाउनका लागि मतपत्रको अन्तिम लाइनमा उमेदवार नै नभएको चिह्न राखेर पठाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए ।

    ‘भरतपुरमा मात्रै हो एउटा चुनाव चिह्न बढी भएर आएको । अरु पालिकाको मतपत्रमा झन् पाँचरदश वटा चिह्न बढी राखेर पठाइएको छ’, उनले भने । सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । २७ वैशाखमा सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरूलाई मतपत्र दिएर पठाइने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । ‘मतदान केन्द्रको लागि चाहिने मतपत्र छुट्टाएर पोको पार्छौँ र सम्बन्धित मतदान अधिकृतलाई जिम्मा लगाउँछौँ’, उनले भने, ‘मतपत्रको ढुवानी नेपाली सेनाले गर्छ ।’

    मतपत्रको सुरक्षाको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । मतदान केन्द्रमा मतपत्र पुगिसकेपछि प्रहरीको सइ वा असइको कमाण्डमा मतपत्रको सुरक्षा गरिन्छ । मतदानको दिन ३० वैशाख बिहान दलका प्रतिनिधिहरुको रोहवरमा मतपत्रको पोको खोलिने उनले बताए । मतदानको समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म रहेको छ । चितवनमा १६१ वटा मतदान स्थल र ४५१ वटा मतदान केन्द्र छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप