• ट्रेण्डिङ्ग :
प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई


  • 6.3K
    SHARES
    • जेठ ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

    काठमाडौं, ९ जेठ । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग २०२१/२२ को उपाधि जितेको छ ।

    images

    सिटीले एस्टन भिल्लालाई ३-२ ले पराजित गर्दा दोस्रो स्थानको लिभरपुलले पनि अन्तिम खेलमा वल्भ्समाथि जित दर्ता गर्यो । १ गोलले पछि परेको लिभरपुलले अन्तिममा ३-१ को जित दर्ता गरेपनि उपाधि जित्न सकेन । समग्रमा सिटी ३८ खेलमा ९३ अंकसाथ उपाधि जोगाउन सफल रहयो । यता लिभरपुल ३८ खेलमा ९२ अंकसाथ दोस्रो भयो ।

    एक समय २-० ले पछि परेको सिटी उपाधि गुमाउने संघारमा रहेको थियो । खेलमा म्याटी क्यासले एस्टन भिल्लालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । उनले ३७ औं मिनेटमा लुकास डिग्नको पासलाई सदुपयोग गर्दै घरेलु मैदान म्यानचेस्टर सिटीका समर्थकलाई स्तब्ध पारेका थिए ।

    दोस्रो हाफमा सिटीले आक्रामक सुरुवात गरेपनि गोल गर्न भने सकेन । ६९ औं मिनेटमा ओली वाटकिन्सको पासमा कोउटिन्होले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक एडरसनले कुनै प्रतिक्रिया जनाउन सकेनन् । ७६ औं मिनेटमा रहिम स्टर्लिङको पासमा इल्काए गुन्डोगनले गोल गर्दै सिटीलाई खेलमा फर्काए । त्यसको दुई मिनेट नबित्दै सिटीले बराबरी गोल पनि फर्कायो । ओलेक्जेन्डर जिन्चेन्कोको पासलाई रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

    बराबरी गरेको दुई मिनेटपछि नै सिटीले अग्रता पनि लियो । केभिन डे ब्रुएनको क्रसमा गुन्डोगनले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै सिटीलाई अप्रत्याशित अग्रता दिलाए । यता अर्को तर्फ लिभरपुल खेलको तेस्रो मिनेटमा नै पछि परेको थियो । पेड्रो नेटोले राउल जिमिनेजको पासलाई सदुपयोग गर्दै एनफिल्डका समर्थकलाई निराश पारेका थिए । २४ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले थियागो अलाकान्ट्राको पासलाई गोलमा परिणत गरेका थिए ।

    दोस्रो हाफमा एक समय सिटी २(० ले पछि पर्दा लिभरपुललाई उपाधि होडमा अघि बढ्न १ गोल आवश्यक थियो । तर सिटीले आफ्नो खेलमा लगातार ३ गोल गर्दै ३-२ को अग्रता लिएपछि मात्र लिभरपुल अघि बढ्न सक्यो । ८४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अघि बढाए । ८९ औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे । दुवै टोलीले जित हात पारेपछि सिटी १ अंकको अग्रतासहित लिग च्याम्पियन बन्न सफल रहयो ।


    तेस्रो आँखा
    लेखकबाट थप