काठमाडौं,२१ जेठ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ । लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको जानकारी दिए ।उनले भने, “बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन धेरै चाप प¥यो ।”
अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत पूर्ववत्रुपमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो। यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाइएको छ । सूचनामा अस्पतालको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ । सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
