काठमाडौं,२३ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर, १७ ले वडाभित्रको फोहर व्यवस्थापन सुरुगरेको छ । लामो समय वडामा फोहर नउठेपछि वडाकै सक्रियतामा फोहर व्यवस्थापन सुरुभएको वडा सदस्य कविता दासले बताइन । ‘आफ्नो वडा आफै बनाउँ’ भन्ने अभियान अन्र्तगत वडाले स्थानीय, स्वयम सेवक र जनप्रतिनिधिहरुको उपस्थितीमा विभिन्न स्थानमा सरसफाइ तथा यत्रतत्र रहेका फोहरलाई एकै स्थानमा व्यवस्थापन गरेको सदस्य दासको भनाइ छ ।
विभिन्न कारणले तत्काललाई काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सक्ने अबस्था नभएकाले वडालेनै काम अघि बढाएको वडा अध्यक्ष नविन मानन्धरले बताए। उनले काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापन गर्ने स्थान सिसडोल र बन्चरे डाँडामा केहि समस्या देखिएको र लामो समय वडाका विभिन्न स्थानमा फोहर थुप्रिएकाले वडाकै सक्रियतामा व्यवस्थापनमा जुटेको बताए । त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि फोहोर उठाउन थालिएको छ ।

झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालिएको वडाध्यक्ष मुकुन्द रिजालले बताए ।फोहोर आफ्नै वडाक्षेत्रमा व्यवस्थापन गर्ने गरी वडाध्यक्षले आवश्यक छलफल गरेर काम सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।यसअघि काठमाडौं महानगरपालिका मयेर वालेन्द्र साह हिजो सोहि वडामा पुगेर फोहर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए ।
