काठमाडौं,२५ जेठ । खाद्य अधिकारको विषयमा संविधान र कानुनमा भएको व्यवस्था व्यवहारमा कार्यान्वयन हुनुपर्ने माग आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले राखेका छन् ।सप्तरीको विष्णुपुर गाउँपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयवासीले खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार सर्वसाधारणले उपभोग गर्ने खाद्य पदार्थको गुणस्तर कायम राख्न अनुगमनलाई निरन्तरता दिन माग गरे ।
मानव अधिकार निगरानी समूह विष्णुपुरका सचिव अनिलकुमार साहले बजारको नियमित अनुमगन र आवश्यक कारबाही नहुँदा गुणस्तरहीन खाद्य पदार्थ उपभोग गर्न नागरिक बाध्य हुनु परेको गुनासो गरे । उपभोग्य मिति नभएको, उपभोग्य मिति समाप्त भएको, अखाद्य रङ्ग मिसिएको र गुणस्तरहीन सामग्री बिक्री गर्नेमाथि कडा कारबाही सुरु गरिए मात्र सुधार आउने उनले बताए । रुद्रनारायण मावि गोरगमाका शिक्षक अर्जुनकुमार यादवले खाद्य पदार्थको गुणस्तर कायम राख्न गठित सरोकारवाला निकायको उदासीनताप्रति आक्रोश व्यक्त गरे ।
उनले व्यापारीहरुको मनोमानीका कारण गुणस्तरीय खाद्य सामग्री उपभोगको अधिकार प्रभावकारी हुन नसकेको बताए । विद्यालयको आसपास बिक्री गरिने चटपटे, नास्ताका कारण विद्यार्थीहरु बिरामी पर्ने गरेको र विद्यालयमै शुद्ध खानेपानीको अभाव रहेको अभिभावक पुनम मण्डलले बताए । कार्यक्रमका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले खाद्य पदार्थको गुणस्तर कायम राख्न सरोकारवाला कार्यालय, व्यवसायीका साथै उपभोक्ताको सहयोग आवश्यक रहेको बताए । उनले खाद्य पदार्थ खरिद गर्दा उपभोग्य मिति हेरेर खरिद गर्ने तथा मिति समाप्त भएको र गुणस्तरमा शङ्का लागे उजुरी गर्ने बानी बसाले मात्र पनि धेरै सुधार आउने स्पष्ट पारे ।
खाद्य लेबलमा सम्पूर्ण सम्मिश्रणको विवरण, उत्पादक ठेगाना, ब्याच नम्बर, उत्पादन मिति, उपभोग मिति, उत्पादनको नाम, खुद र कूल तौल÷आयतन स्पष्ट साथ हुनै पर्ने प्रमुख सिंहले जानकारी दिए । उनले होटेल रेष्टुरेन्ट लगायतका खाद्य व्यवसायीहरुले पूरा गर्नुपर्ने न्यूनतम कार्यहरुबारे जानकारी दिदै खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय गुणस्तरका लागि प्रयासरत रहेको बताए ।अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० मधेस प्रदेश कार्यालयद्वारा आयोजित कार्यक्रममा सहजकर्ता दीपककुमार यादवले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा इन्सेकले निरन्तर छलफल, अन्तरक्रिया गरेर सचेतना अभिवृद्धि गरिरहेको जानकारी दिए ।
